गत २५ नोभम्वर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । हरेक बर्ष २५ नोभम्बर देखी १० डिसेम्बरसम्म यो अभियान सञ्चालन गर्ने गरिन्छ ।
महिला अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मी संघ संसथाहरुले ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता अभियान’ भन्ने राष्ट्रिय नारा र “महिला मानव अधिकार रक्षकको पहिचान : महिला हिंसा विरुद्धको अभियान” को नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार सुरु भएको छ ।
गत नोभेम्बर २५ माइतीघर मन्डलाबाट विहान ७ः ३० बजे सयुक्त ¥याली र प्रदर्शनीबाट सुरुभयो । एक्सनएड नेपाल, महिला पुनःस्थापना केन्द्र ओरेक नेपाल, तरंगिनी, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल लगायत महिला अधिकारमा कार्यरतसंस्थाहरुले आइतबार राष्ट्रिय महिला आयोगको राष्ट्रिय समाचार समितिको हल, काठमाडौँमा संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए ।
उक्त कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा एक्सनएड नेपालको महिला अधिकार कार्यक्रम व्यवस्थापक रेनु श्रेष्ठले महिला हिंसा विरुद्धको १६ दिने अभियानको औचित्य, अभियानको माग र संयुक्त रुपले भईरहेका प्रयासहरुको बारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसाका घटनामा कमी नभएको बताउनुभयो ।
अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइएको छ ।
यस्तै, अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्ने लगायत रहेका छन् ।
सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतीकात्मक नाटक प्रदर्शनी, गीत, नारा, कथा कविता वाचन, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएको छ ।
प्रतिक्रिया