बदनाम पितृसत्ताबारे एक फरक दृष्टिकोण

पितृसत्ताको विश्लेषणलाई महिलाको दृष्टिकोणबाट मात्र नहेरी, पुरुषको विद्यमान परिप्रेक्ष्यबाट पनि अवलोकन गरौं ।

 श्याम नेपाल

नारीवादी विचारधाराहरू प्रायः पितृसत्तालाई महिलाहरूको पीडा र अधीनस्थताको जडको रूपमा चित्रित गर्छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र महिला सशक्तीकरणका उद्देश्यहरू मार्फत पितृसत्ता विरुद्ध आवाज उठाउने प्रयास भइरहेका छन् ।

यद्यपि; नेपाल जस्ता देशहरू, जहाँ पितृसत्ताको प्रभाव अझै पनि गहिरो छ, यी अभियानहरूले केवल महिलाका अधिकार र समावेशिता मात्र नभएर पुरुषको सोच र व्यवहारमा पनि परिवर्तनको आवश्यकता औंल्याएका छन् ।

तर, यस लेखमा पितृसत्ताको विश्लेषणलाई महिलाको दृष्टिकोणबाट मात्र नहेरी, पुरुषको विद्यमान परिप्रेक्ष्यबाट पनि अवलोकन गर्न चाहन्छु । पितृसत्ताले पुरुषको भूमिकालाई परिभाषित मात्र गरेको छैन, बरु यसले पुरुषलाई पनि एक विशेष प्रकारको सामाजिक र सांस्कृतिक दबाबमा राखेको छ । पुरुषलाई सधैं ‘दोषी’ र ‘उत्पीडक’का रूपमा चित्रित गर्दा हामी यथार्थमा लुकेको मातृसत्ताका प्रभावलाई अनदेखा गर्दैछौं ।

पितृसत्ताको नारीवादी बुझाइ

नारीवादी दृष्टिकोणमा पितृसत्ता पुरुषको प्रभुत्वको संरचना हो, जसले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरूलाई प्रभुत्वमा राख्छ । नारीवादीहरूका अनुसार, पितृसत्ताले पुरुषलाई शक्ति र विशेषाधिकार प्रदान गर्छ, र त्यसले महिलाहरूलाई र अन्य सीमान्तकृत लैंगिक समूहहरूलाई दमन गर्छ ।

गेरडा लर्नर जस्ता नारीवादी इतिहासकारहरूले पितृसत्ताको प्रभावलाई प्राचीनकालदेखि शुरू भएको र यसको संरचनाले महिलाका श्रम र प्रजनन् प्रक्रियामा नियन्त्रण राखेको ठान्दछन् । उनका अनुसार पितृसत्ताको मुख्य उद्देश्य महिलालाई निजी क्षेत्रमा सीमित राख्नु र पुरुषलाई सार्वजनिक जीवनमा प्रभुत्व प्रदान गराउनु हो ।

गेरडाको थप तर्क छ– पितृसत्तात्मक सोचले पारिवारिक, धार्मिक र शैक्षिक संरचनामा लैंगिक भूमिकाहरूलाई बलियो बनाउँछ र महिलाको स्वतन्त्रताको दायरालाई सीमित तथा साँघुरो बनाउँछ ।

तर, यहाँ एक महत्वपूर्ण प्रश्न के उठ्छ भने– पितृसत्ताका संरचनाहरू के केवल पुरुषको एकपक्षीय प्रभुत्वका रूपमा मात्र अस्तित्वमा छन् ? वा त्यहाँ लुकेको एक अर्को शक्ति संरचना छ जसले यो प्रभुत्व कायम राख्न मद्दत पुर्‍याउँछ ?

फरक-नारीवादी दृष्टिकोण

फरक–नारीवादी दृष्टिकोणले पितृसत्ताको परिभाषा मात्र बदल्दैन, यसले पुरुष र महिलाका बीचको पारम्परिक भूमिकाको विश्लेषणलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्छ । यसमा पुरुषहरूको शोषण र दबाबलाई ध्यानमा राखिएको छ, जहाँ महिलाले सूक्ष्म र भावनात्मक रणनीतिहरू प्रयोग गरेर पुरुषहरूलाई नियन्त्रण गरेका छन् ।

एस्टर भिल्लार र चिनवेइजु जस्ता विचारकहरूले महिला–प्रेरित शोषणलाई देखाएका छन् । उनीहरूको दृष्टिकोणले पुरुषलाई पितृसत्तामा मात्र उत्पीडित प्राणीको रूपमा प्रस्तुत गर्दैन, बरु उनीहरूले महिलाका शोषणात्मक रणनीतिहरूको विश्लेषण गर्दै लुकेको मातृसत्ताको अस्तित्वलाई उजागर गर्छन् ।

उनीहरूका अनुसार, मातृसत्ताले पुरुषलाई भावनात्मक र यौन–आधारित रणनीतिहरू प्रयोग गरेर शोषित गरेको छ । यस्ता शोषणका उदाहरणहरू प्रेम सम्बन्ध, विवाह र सांस्कृतिक मान्यताहरूमा देख्न सकिन्छ । यसले पुरुषको जीवनमा शारीरिक र भावनात्मक दबाब सिर्जना गरेको छ, जसका कारण उनीहरूले आफ्नो इच्छा र स्वतन्त्रता गुमाएका छन् ।

लुकेको मातृसत्ता

यस लेखको उद्देश्य पितृसत्ताको परिभाषालाई पुनः परिभाषित गर्नु मात्र होइन, त्यसका केही विशेष पक्षलाई प्रकाशमा ल्याउनु पनि हो, जस्तै; पितृसत्ता महिलाका लागि भन्दा पनि पुरुषका लागि बढी दुःखदायी छ । अर्थात्, फरक–नारीवादी दृष्टिकोणले लुकेको मातृसत्ताको अवधारणामा जोड दिएको छ जसमा उनीहरूले पितृसत्ता महिलाका लागि तुलनात्मक रूपमा कम दुःखदायी भएको र पुरुषका लागि बढी पीडादायी भएको पक्ष उजागार गरेका छन् ।

फरक–नारीवादी विचारकहरूका अनुसार, मातृसत्ता देख्न र बुझ्नको लागि केवल बाह्य संरचनामा मात्र ध्यान केन्द्रित गरेर बुझिंदैन, बरु त्यहाँ ध्यान केन्द्रित गर्नुपर्छ जहाँ एक सूक्ष्म शक्ति संरचना छ जसले पुरुषलाई भावनात्मक, घरेलु र सामाजिक रूपमा परनिर्भर बनाएको छ ।

फरक–नारीवादी विचारकहरूले तर्क गर्छन् कि पुरुषलाई धोका दिइएको छ, जसले गर्दा उनीहरूको जीवन महिलाहरूको सेवा र बलिदानमा बिताउन बाध्य पारिएको छ । चिनवेइजुले आफ्नो पुस्तक ‘द एनाटोमी अफ फिमेल पावर’ मा पुरुषलाई सिसिफस जस्तै निरन्तर श्रम गर्न लगाइन्छ र यसको प्रतिफलमा थोरै यौन आनन्द मात्र प्रदान गरिन्छ भन्ने विचार प्रस्तुत गरेका छन् । यसैगरी, एस्टर भिल्लारले तर्क गरेकी छिन् कि महिलाहरूले गाँजर र लाठीको सूत्र प्रयोग गरेर पुरुषलाई हजारौं वर्षदेखि आफ्नो सेवामा राख्दै आएका छन् ।

भिल्लारले महिलाहरूको प्रतिस्पर्धा मुख्य रूपमा कुनै पुरुषलाई आफ्नो स्वामित्वमा राख्न र अन्य महिलासँगको सम्पर्क रोक्न केन्द्रित रहेको बताएकी छिन् । यी विचारलाई चिनवेइजु र अन्य लेखकहरूले समर्थन गर्दै समाज वास्तवमा पितृसत्तात्मक नभई मातृसत्तात्मक रहेको तर्क प्रस्तुत गरेका छन् । मातृसत्ताले बलको माध्यमबाट होइन, चालबाजी र कमजोरीको नाटकद्वारा पुरुषलाई शोषण गरेको दृष्टिकोण अघि सारिएको छ ।

चिनवेइजुले डेटिङलाई पुरुषलाई प्रशिक्षित गर्ने प्रक्रिया भन्दै, सेक्सबाट वञ्चित गरेर र झुटा आकर्षणद्वारा पुरुषलाई आफ्नो नियन्त्रणमा राखिएको उल्लेख गरेका छन् । विवाह समारोह महिलाको विजयको उत्सव हुने र पुरुषलाई सिसिफियन जीवनमा धकेल्ने माध्यम भएको तर्क प्रस्तुत गरिएको छ ।

उनको पुस्तकमा कसरी आमाले आफ्नो छोरालाई घरेलु कामप्रति घृणा गर्न लगाउँछिन्, जसलाई संस्कृतिले समेत समर्थन गर्छ र आमा र संस्कृतिले पुरुषलाई घरेलु कामबाट टाढा राख्दै, भविष्यमा महिलाको नियन्त्रणमा पर्न सहज बनाउन भूमिका खेलेको थप बताइएको छ ।

‘द मिथ अफ द मेल पावर’ र ‘द पोलिग्यामस सेक्स’ जस्ता पुस्तकहरूले पितृसत्ताको नारीवादी परिभाषालाई चुनौती दिंदै, प्राचीन र आधुनिक समाजमा मातृसत्तात्मक शक्ति संरचनाको रहस्योद्घाटन गरेका छन् । यी पुस्तकहरूमा मातृसत्ताले पुरुषहरूलाई भावनात्मक र सामाजिक जिम्मेवारीको दबाबमा राख्दै, उनीहरूको शोषणलाई सामान्यीकरण गरेको तर्क गर्छन् ।

फरक–नारीवादी विचारकहरूको तर्क छ कि महिलाहरूले आफ्नो हक र अधिकारको प्रयोग गर्दै पुरुषलाई भावनात्मक र यौन–आधारित नियन्त्रणमा राखेका छन् । यसले पुरुषलाई सामाजिक र घरेलु भूमिकामा ‘दास’ बनाएको छ । जसरी पितृसत्ता पुरुषलाई युद्ध, श्रम र बलिदानको नाममा शोषित गर्दछ, त्यस्तै मातृसत्ताले पनि पुरुषलाई आफ्ना भावनात्मक र सामाजिक जिम्मेवारीहरूको दबाबमा राख्दछ ।

निष्कर्ष :

सारांशमा भन्नुपर्दा, नारीवादी र फरक–नारीवादी दृष्टिकोणहरूको बीचमा भिन्नताहरू छन् । पितृसत्ता केवल पुरुषहरूको पक्षमा र नारीहरूको उत्पीडनका लागि बनेको संरचना मात्र हो भन्नु ठीक हुँदैन ।

पितृसत्ता केवल महिलाका लागि मात्र उत्पीडनकारी नभई पुरुषका लागि पनि दबाब र शोषणको कारण बनेको छ, बरु महिलाहरूले यसलाई आफ्नो फाइदाका लागि चलाखी र रणनीतिक रूपमा प्रयोग गरेका छन् तर पुरुषहरू पितृ र मातृ दुवै सत्ताबाट प्रताडित छन् ।

आधुनिक समाजका महिला र पुरुष दुवैका लागि पितृ र मातृसत्ताको प्रभावबाट मुक्तिको उपाय खोज्न आवश्यक छ । महिला र पुरुष बीच समन्यायिक सम्बन्ध स्थापित गर्न र सहअस्तित्वमा आधारित समाजको संयुक्त–निर्माण गर्नेतर्फ सहकार्य गर्नुपर्ने आवश्यकता आजको समयमा विद्यमान समाजको अनिवार्य शर्त ठान्दछु ।

तसर्थ, हामीले समाजका दुवै पक्षलाई उचित मूल्याङ्कन गरेर सह–अस्तित्वको आदानप्रदान गर्नु आवश्यक छ । समाजमा लैंगिक समानता र समान अधिकारको प्रवर्धन गर्दा, हामीलाई पितृसत्तासँगै लुकेको मातृसत्ताका प्रभावहरूलाई पनि बुझ्न र सुधार्न आवश्यक छ । केवल यसरी मात्र हामी एक समृद्ध, समान र न्यायपूर्ण समाजको निर्माण गर्न सक्छौं ।

Source: onlinekhabar.com 

प्रतिक्रिया