मंसिर २२ काठमाडौं । १६ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न गैरसरकारी संघ÷संस्थाहरुको सहकार्यमा ७६ औ विश्व मानव अधिकार दिवसको सन्दर्भमा महाभेला सुरु गर्न लागिएको हो ।
मानव अधिकार राष्ट्रिय महाभेला मुल आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरेर महाभेलाको सम्पूर्ण तयारी सकिएको बताएको छ । महाभेला संयोजक भोला भट्टराईले महाभेला सात दिनसम्म चल्ने बताउनुभयो ।
आइतबार ललितपुरमा विशेष कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय महाभेलाको उद्घाटन गर्नुहुनेछ ।
यसपटक महाभेलाको नारा ‘सामाजिक, आर्थिक तथा बातावरणिय न्यायको आधारः सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने रहेको छ । यस अन्तर्गत विभिन्न विषयमा सात दिनसम्म अन्तरक्रियात्मक कार्यक्रम गरिने भएको छ ।
मानवअधिकारको विश्विव्यापी अवधारणा तथा त्यसको उपभोग सिमान्तकृत समुदायले गर्न नपाईरहेको अवस्थामा यस महाभेलाले विभिन्न सवालहरुमा ७ दिनसम्म बहस, छलफल, सचेतनामूलक प्रदर्शन, प्रभातफेरी जस्ता कार्यक्रम गरिने छ ।
महाभेला मार्फत मानवअधिकार प्रति जिम्मेवार र जवाफदेहि हुन सरकार, नीजि क्षेत्रलाई दबाब सृजना गर्ने लक्ष्य राखिएको छ ।
पछिल्लो समय विश्वमा बढ्दै गएको हिंसा, आतंक र प्राकृतिक स्रोत तथा बाताबरणमाथी दोहनले समुदायको जिविकोपार्जनको अधिकारहरुका सवालहरु पनि हनन भएकाले महाभेलाले यी विषयवस्तुहरुलाई उठान गर्ने छ । यस महाभेलाको क्रममा मानवअधिकारप्रति राजनीतिक पाटीको प्रतिवद्धता एवं विभिन्न सरकारी निकायको जवाफदेहिता खोज्न सम्वादहरु हुने, मानबअधिकारको निगरानी गरिने, काठमाण्डौ लगायत सात वटै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तय भएको छ ।
प्रतिक्रिया