हाम्रो समाजको सामाजिक, धार्मिक, आर्थिक र राजनीतिक सोच र स्थितिको जानकारी तात्कालिक कलाकृतिबाट गर्न सकिन्छ । कुनै पनि कलाकृतिको बाह्य मूर्त स्वरूपको सिर्जना अमूर्त रूपमा रहेका मन्त्र, प्रतिमा, शास्त्रका निर्देशन र तत्कालीन परिस्थितिको प्रवाहबाट हुन्छ । त्यसैले कुनै पनि कलाकृतिसँग मानव समुदायको भावना, आस्था जोडिएको हुन्छ । धार्मिक प्रतिमासँग त जीवन र मृत्युको कामना, सम्पूर्ण दर्शन र विश्वास टपक्कै जोडिएको हुन्छ । त्यसैले एउटा मूर्ति अलपत्र पर्नु, चोरिनु, संरक्षण नपाउनु भनेको हामीहरूको आस्था, विश्वास र भावनामा तुषारापात हुनु हो । फरक आस्थाको संवेदनहीनतासँगै नैतिकतामा आएको खडेरी र सम्पत्ति आर्जनको लोभले गर्दा सम्पदाहरू चोरिएको देखिन्छ । कडा कानुन नहुँदा पनि सम्पदा अवैध रूपमा ओसारपसार भइरहेका छन् । आफ्नै धर्मप्रतिको अनास्था र उदासीले चोरी कार्यलाई मलजल दिएको छ ।
यस आलेखमा नेपालबाट चोरी भएर विदेश पुगेर विभिन्न प्रक्रियाबाट नेपाल ल्याइएका केही मूर्तिको चर्चा गरिँदै छ :
भक्तको प्रतिमा
राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा प्रस्तरको आकर्षक प्रतिमा प्रदर्शन गरिएको छ । लन्डनबाट फर्काइएको यो प्रतिमा मूर्तिकलाको दृष्टिबाट अब्बल छ । नेपाली मूर्तिकलामा देवताहरूको वाहन, आयुध र भक्तालुहरूको विशेष महत्व छ । सनातन धर्म र बौद्ध दर्शनको सन्देशका आधारमा त्यस्ता मूर्ति निर्माण भएका छन् । राष्ट्रप्रमुख, तिनका परिवार, भाइभारदार र सर्वसाधारणलाई भक्तका रूपमा मन्दिर, विहार, ढुङ्गेधारा र शिलालेखमा प्रस्तुत गर्ने प्रचलन छ । ती मध्ये केही निम्न छन् :
क.) प्रस्तर, धातु र अन्य पदार्थका मूर्तिहरूको सबैभन्दा तल्लो भागमा भक्तहरूलाई विभिन्न आसनमा, अञ्जली मुद्रामा देखाइन्छ । शिर झुकाएर, दुवै हात जोडेर, पलेँटी वा घुँडा मारेर बसेका भक्तका साना र मझौला आकृतिका मूर्तिहरू सारै आकर्षक हुन्छन् ।
ख.) शिलालेखको माथिल्लो भागमा सानो आकृतिको देव प्रतिमा, बिचमा सम्पूर्ण वर्णन र तल्लो भागको दायाँ, बायाँ वा बिचमा भक्तको जोडी वा परिवार कुँद्ने प्रचलन छ ।
ग.) गर्भगृहभित्र मूलदेव प्रतिमाको अगाडि नै आमनेसामने गरेर भक्त र परिवारको मूर्ति स्थापना गरिन्छ ।
घ.) मन्दिरपरिसरमा खम्बा वा सानो कोठामा स्थापित भक्तहरू ।
ङ.) विभिन्न पौवाको तल्लो भागमा प्रस्तुत गरिएका, कोरिएका भक्तहरूको चित्र ।
च.) हस्तलिखित ग्रन्थको गाताचित्रमा भगवान्को भक्तका रूपमा प्रस्तुत भक्तहरू ।
छ.) दरबार र मन्दिरका भित्तामा कोरिएका भगवान् र राजपरिवारका लौकिक जीवनसँग सरोकार राख्ने सेवक, सेविका र भक्तहरूको प्रस्तुति पनि यसैमा पर्छ ।
काठमाडौँ महानगरपालिका–२१, यङ्गा, मञ्जुश्री टोलबाट हराएको प्रस्तरको सुन्दर मूर्ति धेरै वर्षपछि स्वदेश ल्याइएपछि राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शित छ । अञ्जली मुद्रामा, दुवै घुँडा मारेर शान्त भावमा बसेको भक्तको यो मूर्ति नेपाली प्रस्तरकलाको बेजोड नमुना हो । यस मूर्तिको वेशभूषा, गरगहना, कपालको साजसज्जा र मुहारको भावभङ्गी सबै उत्कृष्ट छ । मल्लकाल र शाहकालमा प्रचलनमा रहेको शैली यस मूर्तिमा देख्न सकिन्छ । झट्ट हेर्दा टोपी जस्तै देखिने विशेष शैलीमा बेरिएको फेटा, शरीरको बायाँ भागमा तुना बाँधेको दौरा, पूरा बाहुले दौराको कपडामा देखाइएको बुट्टा र पटुका बाँध्ने विशेष शैली पनि आकर्षक छ । पटुकाको तीन तहले तत्कालीन समाजमा प्रचलित पटुका बाँध्ने शैलीलाई देखाएको छ । भक्तको कानमा ठुलो कानपासा छ, कानपासामा झुन्डिएको झुम्काले भक्तको मुखाकृतिलाई उज्यालो देखाएको छ । हाम्रा विभिन्न शास्त्रमा छ र नौ प्रकारका भक्तिको वर्णन गरिएको छ । सात्विक, राजसी र तामसी भक्तिमध्ये सर्वोत्कृष्ट भक्ति सात्विकलाई मानिएको छ । परमात्मा परमेश्वरलाई विभिन्न ढङ्गले प्रसन्न पार्न भक्तले गर्ने निष्काम कर्ममध्ये प्रतिमा स्थापना पनि पर्छ ।
अप्सरा
प्रतिमा विज्ञानका पुस्तकहरूमा यक्ष, गन्धर्व, किन्नर, नाग, नन्दी, गरुड, पितृ, ऋषि, बेताल, पिशाच र अप्सराहरूलाई अर्धदेवताको कोटीमा राखेर वर्णन गरिएको छ । ‘डेमी गड’ भनेर वर्णन गरिने यिनीहरू मानिसभन्दा एक तहमाथि र भगवान्भन्दा एक तह तल मानिन्छन् । विशेष प्रकारका शक्ति भएका यी अर्धदेवताहरूले प्रसन्न हुँदा आशिष् र रिसाउँदा श्राप पनि दिन सक्छन् । अप्सराहरू पनि अर्धदेवतामै पर्छन् । चोरिएर लन्डन पुगेको एक जोडी अप्सराको मूर्ति विभिन्न तह पार गरेर नेपाल फर्काउन सम्भव भएको छ । छाउनीको राष्ट्रिय सङ्ग्रहालयमा प्रस्तरका दुई वटा अप्सराका मूर्ति प्रदर्शन गरिएको छ । यी दुवै मूर्तिको शैली, भावभङ्गी, वेशभूषा, आङ्गिक अनुपात सबै उस्तै उस्तै छ । छाउनीमा प्रदर्शित जोडी अप्सराको यो मूर्तिलाई उर्वशी र रम्भा नामकरण गर्नु ठिक देखिन्छ ।
महाभारतको आदिपर्व अन्तर्गत सम्भवपर्वमा अप्सराहरूको जन्मबारे उल्लेख छ । देवी प्राधा र देवर्षि कश्यपको सन्तानका रूपमा अलम्बुषा, मिश्र केशी, विद्युत्पर्णा, तिलोत्तमा, अरुणा, रक्षिता, रम्भा, मनोरमा, केशिनी, सुबाहु, सुरता, सुरजा, सुप्रिया आदि अप्सराको जन्म भएको थियो ।
(महाभारत, आदिपर्व अन्तर्गत सम्भवपर्व, अध्याय ६५, श्लोक ४९–५०) ।
समुद्र मन्थनबाट अप्सराहरू उत्पत्ति भएको, नारायणको तिघ्राबाट उर्वशीको उत्पत्ति भएको, पृथ्वीमा भएका सम्पूर्ण उत्तम वस्तुको ससाना टुक्रा (तिलांश) जम्मा पारेर विश्वकर्माले तिलोत्तमालाई कश्यप पुत्रीका रूपमा जन्माएको वर्णन महाभारतमा आउँछ । महाभारतमा वर्णन भए अनुसार सुन्दर र उपसुन्दर नामका दुई राक्षस दाजुभाइको अन्याय अत्याचारबाट छुटकारा पाउन ब्रह्माले विश्वकर्मालाई अराए अनुसार तिलोत्तमाको जन्म भएको थियो । तिलोत्तमाको सुन्दरताको बयान स्वर्ग र मत्र्यलोक सबैतिर थियो । ती अप्सरालाई पाउन सुन्द र उपसुन्दबिच घमासान झगडा भएपछि दुवैको मृत्युमा समस्याको समाधान भएको थियो । एक पटक तिलोत्तमाले देवताहरूको पूजा गर्ने क्रममा परिक्रमा गर्दा इन्द्रको शरीरभरि आँखा उम्रेको र शिवका चारै दिशामा शिर उत्पन्न भएको रोचक वर्णन महाभारतमा आउँछ ।
विश्वामित्र र मेनकाको सम्बन्धबाट शकुन्तलाको जन्म भएको रोचक प्रसङ्ग पनि महाभारतमा छ । हाल राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शित अप्सराको जोडी मूर्तिको हाउभाउ, शारीरिक अनुपात, हल्का ढङ्गले दर्साइएको शृङ्गारिकपन, अभिनयसहितको नृत्य मुद्रा सबैले नेपाली उत्कृष्ट कलाकारिताको परिचय दिएको छ । यो जोडी मूर्तिको केश सज्जा, सुन्दर मुखाकृति, हल्का बुट्टा काटिएको बाला, कम्मरबन्ध, शिरको मुकुट सबै बनाउन कलाकारले धेरै मेहनत गरेको प्रस्ट हुन्छ ।
नागराज
नक्सालबाट चोरी भएको नागराजको मूर्ति अमेरिका पुगेर त्यहाँबाट पुनः फर्काई छाउनी सङ्ग्रहालयमा प्रदर्शित हुँदै हालसालै नक्सालको आफ्नै स्थानमा स्थापना गरिएको छ । प्रस्तर नागराजको यो मूर्तिको कलाकारिता उच्चस्तरीय छ । सरल, सादा भईकन सुन्दर मूर्ति कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयको साक्षी हो, यो मूर्ति । नेपाली वास्तुकला, मूर्तिकलामा नागकन्या र नागहरूको उपस्थिति सारै सुन्दर ढङ्गले गरिएको देखिन्छ । मन्दिर, दरबार, धर्मशाला, पाटी, ढुङ्गेधारा, इनार, जल द्रोणी सबैलाई चारै दिशाबाट नागका जोडीले रक्षा गरेका छन् ।
नागका आठ कुल, कश्यप ऋषिकी पत्नी कद्रूबाट नागहरूको जन्म भएको, राजा परीक्षितलाई तक्षक नागले डसेपश्चात् उनका छोरा जनमेजयले गरेका सर्प यज्ञ, नागकन्या जरत्कारुको विवाह जरत्कारु मुनिसँग भएपश्चात् जन्मिएका आस्तिकद्वारा नाग वंशको रक्षा आदि विषयको विस्तृत वर्णन महाभारत र देवीभागवतमा छ । विभिन्न पुराण र महाकाव्यमा वर्णन भएका आख्यानकै आधारमा नेपाली मूर्तिकलामा नागदेवलाई प्रस्तुत गरिएको छ । नागलाई प्रमुख देवता र संरक्षक देवताका रूपमा दर्साइन्छ । अष्टनाग र बलरामको स्वरूप यसका ज्वलन्त उदाहरण हुन् । विष्णुको शेषशायी रूप र कृष्णको कालीयदमन स्वरूप दलित रूपका उदाहरण हुन् ।
प्रतिमा विज्ञानका पुस्तक, अंशुमदभेदागम र रुपमण्डनमा नाग प्रतिमा निर्माणको विधान तोकिएको छ । तीन वटा आँखा, चार वटा हात, रातो रङमा नागलाई दर्साउँदा, शिरमा करण्डमुकुट, हात बरद र अभय मुद्रामा देखाउने विधान छ । नागराजको शिरलाई पाँच, सात र नौ वटा नाग छत्रले सुरक्षा गरेको देखाइन्छ । प्रतिमा विज्ञानको पुस्तक शिल्परत्नमा नागको प्रतिमा बनाउँदा माथिल्लो भाग मानिसको र तल्लो भाग सर्पको बनाउनुपर्ने निर्देशन छ । बौद्ध धर्मावलम्बी पनि नागद्वारा रक्षा गरिएको शाक्यमुनि बुद्ध, अमोघसिद्धिको चित्र र मूर्ति निर्माण गरेर आराधना गर्छन् । मूर्त र अमूर्त संस्कृतिको ज्वलन्त उदाहरण हो, नाग प्रतिमा निर्माण र नागपञ्चमीमा चित्र टाँसेर गरिने नागपूजा । यसरी मानिसका मित्र र शत्रु दुवै रूपमा नागलाई दर्साउने चलन छ ।
उपसंहार
हाम्रा सम्पदा चोरिनु, लुटिनु भनेको हाम्रो भावनामा आघात पर्नु हो । आफ्ना भगवान् हराउँदा, चोरिँदा हाम्रो मनस्थितिको शून्यता सहजै कल्पना गर्न सकिन्छ ।
हामी सबैले आफ्ना कलाकृतिप्रति अपनत्वभाव जगाएर त्यसको सुरक्षाको पूर्वाधार तयार पार्नु पर्छ । पुराना, पुरातात्त्विक महत्व भएका कलाकृति आफ्ना बैठकमा सजाउने व्यक्तिलाई निरुत्साहित गरी सजायको भागी बनाउनु पर्छ । कानुन पनि परिवर्तन गरेर अपराधीलाई कडाभन्दा कडा सजाय दिनु पर्छ । सरकारी तहबाट पनि सम्पदाको सुरक्षा र व्यवस्थापन गर्न अर्थसँगै स्थानीय युवावर्गलाई सचेत गर्ने तालिमको व्यवस्था गर्नु पर्छ । वैज्ञानिक ढङ्गका उपकरण जोडेर सुरक्षाव्यवस्था मजबुत बनाउनु पर्छ ।
अवैध ओसारपसारको चपेटामा परेका नेपाली कलाकृतिको संरक्षण गर्ने जिम्मा हामी सबैले लिनु पर्छ । कुनै पनि देशको सम्पदा चोरिएर अन्य देशमा पुग्दा त्यसलाई सम्बन्धित क्षेत्रमा पु¥याउन कदम चाल्ने स्वदेशी र विदेशी सरोकारवाला, लेखक, अभियानकर्ता, अनुसन्धानकर्ता, पत्रकार आदिप्रति हामीले आदरभाव राख्दै शब्द र कार्यले प्रशंसा गर्नु पर्छ । नेपाल सरकार, पुरातत्व विभाग, सुरक्षा निकायसँगै देशविदेशका कलाप्रेमीले आआफ्ना क्षेत्रबाट जसरी खटिएर कार्य गर्नुभएको छ; त्यसको परिणामले हाम्रा केही कलाकृति देश फर्काउन सम्भव भएको छ र केही फर्काइने क्रममा छन् । यो कार्य सोचे जस्तो सजिलो छैन । यसका लागि ज्यान हत्केलामा राखेर काम गर्नु पर्छ । हामी सबैले आआफ्ना क्षेत्रबाट बोलेर, लेखेर, कानुनी कदम चालेर सम्पदालाई सुरक्षित राख्नु पर्छ । हराएका मूर्तिहरूको सङ्ख्या किटान गर्न सकिएको छैन तर जयस्थिति मल्लका पालादेखिको चोरिने क्रम आजसम्म जारी छ । राजा जयस्थिति मल्लको समयमा पशुपति मन्दिरको भण्डारमै चोरी भएको थियो । चोर पत्ता लागेपछि उसलाई मृत्युदण्ड दिइएको थियो ।
काठमाडौँबाट सन् १९६० देखि १९८० सम्म पुरातात्त्विक महत्वका थुप्रै सामग्री चोरिएका छन् । तीमध्ये सय वटाजति कलाकृति फर्काइएका छन् भने केही फर्काइने क्रममा छन् । हाम्रा विविध सम्पदा सामाजिक, सांस्कृतिक, मूर्त र अमूर्त रूपमा रहेका छन् । ती सबै सम्पदा सुरक्षित राख्न हामी सबैले आआफ्ना क्षेत्रबाट पहल गर्नु आवश्यक छ । नेपाल सरकार, सङ्घ संस्था, सम्पदा जेगाउन लागेका व्यक्तिविशेष; लेखेर, बोलेर, अभियानकै रूपमा निरन्तर लागी ज्यान जोखिममा पार्ने अभियन्ता आदि सबैको एउटै उद्देश्य भनेको बिदेसिएका हाम्रा कलाकृति सग्लो र सुरक्षित ढङ्गले नेपाल फर्काउनु हो । नीतिनियम निर्माताहरूले पनि पुरातात्त्विक महत्वका वस्तुहरू सुरक्षित राख्ने उद्देश्यले ठोस कार्य गर्नु पर्छ । बिदेसिएका नेपाली कलाकृतिको नेपाल पुनरागमन जति सुखद छ, त्यसको प्रक्रियागत व्यवस्थापकीय पक्ष चाहिँ चुनौतीपूर्ण छ । यो प्रक्रियामा वस्तु हराएको घटना वा समयबाट वस्तु बेपत्ताको अवस्थासम्म पहिलो भाग, वस्तु कतै फेला परेको र त्यसका लागि फिर्ता ल्याउन सम्बन्धित देश, संस्थासित गर्नुपर्ने गरिने पहलको संवादचक्र दोस्रो भाग, त्यस वस्तुलाई फिर्ता ल्याउने पहल र त्यसमा सरोकारवाला सहमत हुँदाको अवस्थालाई तेस्रो भागमा राख्न सकिन्छ । अन्त्यमा वस्तु फिर्ता गर्न बजेटको समस्या, वस्तु प्राप्तिपछि सुरक्षित स्थानमा गरिने अस्थायी सङ्ग्रह र आवश्यक परे राष्ट्रिय सङ्ग्रहालय छाउनीमा तिनलाई सङ्ग्रह गर्ने अस्थायी प्रावधान छ । (राष्ट्रिय सङ्ग्रहालय, छाउनी, राष्ट्रिय सङ्ग्रहालयको कला सम्पदा भाग–६, २०७९)
विदेशबाट फर्काइएका हाम्रा सम्पदा (कलाकृति) लाई समुदायमा बुझाउँदा सग्लो, नफुटेको स्वरूपमै फर्काउन पाउँदाको आत्मसन्तुष्टिको बयान शब्दमा गर्न सकिँदैन ।
नेपालबाट चोरी गरी विभिन्न देशमा पुर्याइएका कलाकृति ती मुलुकबाट फिर्ता ल्याई सङ्ग्रहालयमा हस्तान्तरण गरिएको छ । त्यस्ता पुरातात्त्विक वस्तुको विवरण यहाँ प्रस्तुत गरिएको छ :
नेपालबाट चोरी भई फिर्ता ल्याइएका पुरातात्त्विक वस्तुको विवरण
गोर्खापत्रबाट साभार
प्रतिक्रिया