राष्ट्रिय दलित गोलमेच सम्मेलन सम्बन्धि अवधारणापत्र तयार

२०८१ माघ ७ । 
राष्ट्रिय दलित गोलमेच सम्मेलन सचिवलय बैठकले दलित गोलमेच सम्मेलन सम्बन्धि अवधारणा पत्र तयार गरेको छ । 
सचिवालयले आगामी २०८२ वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय गरेलगत्तै हालै बसेको बैठकले उक्त सम्मेलनमा सम्बन्धमा अवधारण निर्माण गरेको हो ।

डा.निर्मल विश्वकर्मा, डा. मित्र परियार, खगेन्द्र सुनार, राजेश मयाल(अग्नि शिखा ) तारासिँह विश्वकर्मा, शुनिल राम,संगीताकुमारी राम, तुलसी रसाइली, राजेश नेपाली, प्रकाश टमटा ’प्रतिकार’ लगाएतका सचिवालय सदस्यहरुको बैठकले उत्त अवधारणा तय गरेका हुन् ।  गत पुस १९ गते २०८१ शनिबार काठमाण्डौको रत्न राज्य क्याम्पसमा दलित समुदायका अभियन्ताहरूबीचको संयुक्त गोलमेच सम्मेलनको बैठक बसेको थियो । 

अवधारणा पत्रमा वर्तमान राज्य सत्ताको चरित्र र दलित, दलित समुदायको प्रतिरोध, गोलमेच सम्मेलनको अन्तराष्ट्रिय र राष्ट्रिय सिकाइ, गोलमेच सम्मेलनको आवश्यक्ता, गोलमेच सम्मेलन तयारीको पृष्ठभूमि, गोलमेच सम्मेलनको व्यस्थापन, गोलमेच सम्मेलनको विधि र भावी योजना बारेमा छलफल गरिएको छ ।
सम्मेलन मार्फत वर्तमान अन्तराष्ट्रिय परिवेश, दलित समुदायको पहिचान र इतिहास; दलित समुदायका सन्दर्भमा सामाजिक अन्तरद्वन्द्वको विश्लेष्ण; राज्य सत्ता, राजनितिक पार्टी र शासकहरूको नीति, नियत र व्यवहार विश्लेषण; दलित मुक्तिको दर्शन र सिद्धान्तः सामुदायिक समाजवाद ; सैद्धान्तिक द्धिविधामा निचोड जस्तै दलित मुक्त्तिको सवाल राजनीतिक हो कि सामाजिक हो कि धार्मिक, दलित समुदायको पहिचान, दलित शव्द राख्ने कि नराख्ने; दलित सङ्घर्षको सिद्धान्त शान्तिपूर्ण हो कि बल प्रयोगको सिद्धान्त; दलित महिला मुक्त्तिका सवाल; अन्तर दलित सहकार्य ; दलित मुक्त्ति आन्दोलनमा गैरदलितको भूमिकाः सहकार्य र सङ्घर्षको सिद्धान्त; धर्मलाइ हेर्ने दृष्टिकोण; वर्ग शत्रु र मित्र शक्तिको पहिचान; दलित आन्दोलनका दीर्घकालीन, मध्यकालीन र अल्पःकालीन कार्यक्रमहरू, प्राथमिकताहरू निर्माण आदि सम्भाव्य सेसन वा एजेण्डाहरू हुनेछन् जसका बारेमा  साझा बुझाइ विकास गरिने अपेक्षा गरिएको छ । 
अवधारणा पत्रको विस्तृत रुप तपसिल बमोजिमको दस्तावेजमा रहेको छ :  

राष्ट्रिय दलित गोलमेच सम्मेलनको पृष्ठभूमि  र औचित्य 
(क) परिचय
देशभरि क्रियाशील रहेका दलित समुदायका अभियन्ताहरूबीचको काठमाण्डौको रत्न राज्य क्याम्पसमा  २०८१ पुस १९ गते शनिबारका दिन बसेको संयुक्त गोलमेच बैठकले आगामी २०८२ वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय गरेको छ । सो गोलमेच सम्मेलनको आवश्यक्ताका सन्दर्भमा राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिति सचिवलयद्धार यो अवधारणा पत्र तयार गरिएको हो । 

(ख) वर्तमान राज्य सत्ताको चरित्र र दलित
नेपालमा २०४७ सालमा प्रजातन्त्रको स्थापना पश्चात दलित समुदाय आफनो हक अधिकारका निम्ति केही  जुर्मुराएको पाइन्छ र आंशिक अधिकार सुनिश्चित भएको पनि छ । त्यसभन्दा अगाडि केही समाज सुधार आन्दोलन गरिए पनि यो समुदायले पंचायतकाल र राणा शासन कालभरि सामान्य मानव भएर बाँच्न समेत पाएको थिएन । २०४७ सालको प्रजातन्त्र पश्चात २०६३ सालमा गणतन्त्र स्थापना अगाडि नेपालको राज्य सत्ता नेपाली कांग्रेस पार्टीको कब्जामा रहयो । तर यो पार्टीको नीति तथा कार्यक्रमहरू दलित मुक्त्तिका सवालमा यसको कुनै स्पष्ट दृष्टिकोण र प्राथमिकता देखिदैन। 
नेपालका कम्युनिष्ट पार्टीहरूप्रति दलित समुदायको ठूलो भरोसा रहेको थियो । गणतन्त्र पश्चात नेपालको राज्य सत्ता यिनै पार्टीहरूको कब्जामा गयो । तर यी पार्टीहरूले वर्गिय मुक्ति पश्चात जातीय मुक्त्ति हुन्छ भन्ने भ्रम,  सर्वाहारा वर्गको अधिनायकत्वको आसमा एकल जातीय ब्राहम्णवादी सत्ता निर्माणमा षडयन्त्र गर्न उद्धत छन । यिनीहरूले वर्गीय मुद्धा त बिर्सिए जातीय मुद्धा उठाउँदा अपमान समेत गर्दछन । यी पार्टीहरूको नियत र रवैया दलित समुदायप्रति अत्यन्त असहिष्णु , पुर्वाग्राही र जातवादी  देखियो । यी मूलधारका पार्टीहरू  बाहेक उभारमा आएका पार्टीहरू जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टी, लगायत अन्य पार्टीहरूको पनि दलित समुदायका मुक्त्तिका सवालमा अति सतही र अल्पकालीन दृष्टिकोण देखिएकोे छ । 
पछिल्लो समय यी सबै पार्टीहरू दलित समुदायको सवालमा प्रतिगमन तर्फ गैरहेको पनि देखिन्छ । अहिले नेका र नेकपा एमाले सत्ताले सविधान संशोधन गरेर उत्पीडित समुदायले पाएको सीमित अधिकार कटौति गर्ने प्रपन्च गर्दैछन । यी शासकहरूको असक्षमता र नालायकीपनले सृजना गरेको अस्थिरता, भ्रष्टाचार र देशको दुर्गतिलाई उत्पीडित जाती र समुदायका लागि स्थापित सीमित समानुपातिक समावेशी प्रणालीप्रति बारम्वार दोषारोपण गर्ने र धावा बोल्दै आइरहेका छन् उनीहरूको यस्ता षडयन्त्रले उनीहरूले राष्ट्रको समृद्धि र विकास मात्र होइन कि हाम्रो जस्तो अल्पसंख्यकहरूको देशमा सबै जातिको हिस्सेदारी र सबै प्रकारका विभेदको अन्त्य गर्न नचाहेको देखियो । 

(ग) दलित समुदायको प्रतिरोध 
राजनितिक पार्टी, उनीहरूको सत्ता र शासक वर्गको दलित समुदायप्रति षडयन्त्रमूलक नियत र असहिष्णु व्यवहार, जातिवादी प्रवृति, एकल जातीय राज्यसत्ता कब्जा, विभेद र असमावेशी संरचनालाई कायम गर्ने यथास्थितिवादी चरित्रका विरुद्ध यी पार्टीहरूका दलित भातृ संगठन, यी समुदायका नाममा नेतृत्वमा पुगेका नेता तथा कार्यकर्ताहरूले दबाब दिन त परै जाओस् चुँइक्क समेत बोलेको देखिएन । यसले गर्दा देशको १४ प्रतिशत जनसंख्या ओगटेको यो समुदायमा विकराल नैराश्य र त्रास समेत सृजना हुदै गैरहेको देखिन्छ । यिनै जटिल अवस्थालाई सम्वोधन गर्न दलित समुदायका नेता तथा अभियन्ताहरूले आआफनै प्रयासबाट वैकल्पिक शक्ति निर्माण गर्दै विगत एक दशकदेखि राज्य सत्ताको चरित्रको प्रतिरोध गर्दै आइरहेका छन । 
यसै सन्दर्भमा तारा विश्वकर्माको संयोजनमा डा. निर्मल विश्वकर्मा सहित २०७२ गठित ’दलित जन अधिकार मन्च’पहिलो अभियान मानिन्छ र यसले २०७४ सालको स्थानिय र आम निर्वाचनमा स्वतन्त्ररूपमा भाग लिएको थियो । प्रेम विसीको नेतृत्वमा ’राष्ट्रिय दलित मुक्ति अभियान’संचालन हुँदै आएको छ । यो अभियान विशेष गरी  सुददूर पश्चिम प्रदेशमा केन्द्रिकृत रहेको छ । 

चन्द्रेश्वरदासको संयोजनमा २०७६ सालमा स्थापित ’दलित सङ्घर्ष समिति मधेश’ शक्त्तिले मधेशमा थुप्रै आन्दोलन गरेको थियो । खगेन्द्र सुनारको नेतृत्वमा स्थापित ’दलितका लागि दलित’ अभियान अभियानले २०८१ सालमा ’दलितलाइ खै’भन्ने नारा सहितको ४५ दिन सम्म गरेको निरन्तर माइतीघर मण्डलमा गरेको प्रदर्शन र संविधान  दिवसका दिन गरेको जन प्रदर्शन ऐतिहासिक रहयो । सुनिल लाहनीको नेतृत्वमा ’नेपाल दलित मुक्ति अभियान’ संचालन हुँदै आएको छ । विस २०७८ सालमा डा.मित्र परियार बेलायतबाट फर्केर पहिला ’दलित आत्म रक्षा अभियान’ र पछि ’काष्ट वाच नेटवर्क’ मार्फत दलित मुक्ति अभियान संचालन गर्नु भएको छ । 
विस २०७८ सालमा डा.निर्मल विश्वकर्मा दक्षिण अफिकाका लागि राजदूतको जिम्मेवारीबाट नेपाल सरकारले फिर्ता बोलाए पश्चात ’समाजिक न्याय अभियान’ संचालन गर्दै आउनु भएको छ । मनोज जैगडीको नेतृत्वमा ’मिसन अम्बेडकर नेपाल’ अभियान संचालन हुँदै आएको छ । राजेश मयाल अग्निशिखाले सुदूर पश्चिम प्रदेशमा केन्द्रिकृत ’दलित जन जागरण अभियान’ संचालन गर्दै आउनु भएको छ । कर्ण विश्वकर्माले ’छुवाछुत विरुद्ध राष्ट्रिय अभियान’ संचालन गर्दै आइरहनु भएको छ । पर्साका सुनिल रामको नेतृत्वमा ’भीम आर्मी नेपाल’को ब्यानरमा विशेषगरी मधेशी दलित समुदायमाथि भैरहेका जातीय विभेद र अत्याचार विरुद्ध अभियान संचालन गर्दै आइरहनु भएको छ । उपेन्द्रलाल कामीको नेतृत्वमा ’संयुक्त उत्पीडित जातीय मोर्चा नेपाल’ अभियान संचालन हुँदै आएको छ । 

(घ) गोलमेच सम्मेलनको अन्तराष्ट्रिय र राष्ट्रिय सिकाइ 
यो सम्मेलनले सन १९३२ देखि सन १९३२ सम्म भारतमा भएका तीनवटा गोलमेच सम्मेलनका प्रकृया र सिकाइहरूलाई अनुसरण गरेको छ । यी सम्मेलनहरूमा बृटिश सरकार, मुश्लिम लिग, राज्यका प्रतिनिधिहरू र विभिन्न समुदाय र क्षेत्रका प्रतिनिधि थिए । यी सम्मेलमा भारतीय संविधान विधान निर्माता बिआर अम्वेडकरले त्यहाँ अछुत भनिएका समुदायका हक अधिकार स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । 
यसै गरि यो सम्मेलनले तत्कालिन नेकपा माओवादीले तत्कालीन सरकारसँग सन २००१ म गरेको पहिलो चरणको वार्ता प्रकृया र सन २००३ मा गरेको दोस्रो चरणको वार्ता र त्यसले माग गरेको गोलमेच सम्मेलनको सिकाइलाई  पनि आधार मानिएको छ । 
तर यो राष्ट्रिय दलित गोलमेच सम्मेलन वृहत् शक्त्ति बीचको गोलमेच नभैकन, दलित समुदायका विभिन्न अभियानहरू बीचको सम्मेलन हो । दलित आन्दोलनमा नेपालको वस्तु स्थिति विश्लेषण गर्दा हाल दलित समुदाय बीच नै साझा विचार र एजेण्डा विकास गर्नु पर्ने भएकोले यसको आवश्यकता महशुस गरिएको हो । 

(ङ) गोलमेच सम्मेलनको आवश्यकता 
यो पृष्ठभूमी र तल उल्लिखित बैठकहरूले तीनवटा सवालहरूमा आफना छलफलहरू विशेष रुपमा केन्द्रित गरेको थियो । ती सवालहरू  तपसिल बमोजिम रहेका छन जसको आउने गोलमेच सम्मेलनले सम्वोधन गर्नु पर्नेछ ।
१. दलित मुक्तिको वैचारिकी निर्माण र एकरूपताः नेपालमा दलित मुक्त्तिको स्पष्ट विचार भएन जसले गर्दा दलित आन्दोलनका सन्दर्भमा दैनिक आउने शब्द, अवधारणा, सीपका प्रयोगमा प्रशस्त विविधता पाइन्छ । अहिले पनि दलित मुक्तिका सन्दर्भमा थुप्रै वैचारिक द्धिविधाहरू रहेका छन । वास्तवमा नेपालमा दलित मुक्त्तिको स्पष्ट दृष्टिकोण र खाका पाइदेन । जस्ले गर्दा यो समुदायलाई एकताबद्ध गर्न कठिनाइ भइरहेको छ । नेपालमा दलित मुक्तिको नयाँ  वैचारिकी निर्माण गर्न र त्यसले दलित मुक्तिको मार्गदर्शन प्रदान गर्न योगदान पुरयाउन यो गोलमेच सम्मेलनको आवश्यकता भएको हो । 
२. दलित समुदायका अभियन्ताहरू बीच मोर्चाबन्दी गर्नेः दलित समुदायका अभियन्ताहरू बीचको एकता बिना दलित आन्दोलन अगाडि बढन सक्दैन । एकिकृत प्रयास बेगर गरिएका कुनै पनि अभियान वा आन्दोलनलाई राज्यसत्ताले मात्र होइन दलित समुदाय स्वयंले पनि नजर अन्दाज गरिरहेको अवस्था छ । हाल नेपालमा थुप्रै वैकल्पिक अभियानहरू संचालनमा क्रियाशील रहेका छन् र यी अभियन्ताहरू बीच सकेसम्म एउटै संगठन निर्माण गर्ने वा सवालमा आधारित मोर्चाबन्दी गर्ने मोडेलका बारेमा छलफल गर्न पनि यो गोलमेच सम्मेलनको आवश्यक्ता महसुस गरिएको हो । यो सम्मेलनमा विभिन्न अभियानहरूबीच अल्पकालीन मोर्चाबन्दी वा दीर्घकालीन एकिकृत हुन सक्ने सम्भावना बारे बहस र छलफल हुनेछ । यसका साथै गैरदलितको नेतृत्वमा संचालित अभियान वा शक्त्तिसँग मोर्चाबन्दी गर्ने, सहकार्य र सङ्घर्षको  सिद्धान्तमा पनि छलफल हुनेछ ।
३. दलित समुदायको बैकल्पिक शक्ति निर्माण गर्नेः हाल सम्मको छलफलले के देखाँउछ भने अभियान मात्र संचालन गरेर दलित मुक्त्ति सम्भव छैन । दलित अभियान वा आन्दोलनलाई कुनै प्रकारको शक्त्ति र राजनीतिसँग जोडनु पर्छ  भन्ने सवाल पनि जोडतोडका साथ उठिरहेको छ । यसै सिलसिलामा के पनि तर्क गरिन्छ भने दलित समुदायको मात्र पार्टी खोल्नु हुदैन र चल्दैन । यसको विपरित यो समुदायको पार्टीभन्दा अभियानलाइ केन्द्रित गर्ने र भैरहेका मूलधारका राजनीतिक पार्टीहरूमा दवाव सृजना गरी दलित समुदायका मुद्धा सम्वोधन गर्ने । यो गोलमेच सम्मेलनमा यी विविध पक्षमा छलफल हुने र यस पश्चात यो समुदायको एउटा राष्ट्रिय शक्ति निर्माण हुने अनुमान गर्न सकिन्छ । 

(च) गोलमेच सम्मेलन तयारीको पृष्ठभूमि 
दलित समुदायका अभियानहरूले एक्ला एक्लै वा केही सहकार्यमा दलित समुदाय मात्रको मुद्धामा अभियान, आन्दोलन, प्रशिक्षण वा राजनितिक क्षमता विकासका कार्यहरू गर्दै आइरहेका छन । तर आम जनमानसबाट यी अभियानहरू बीच एकताको अपेक्षा र माग नियमित भैआइरहेको थियो । यसैतथ्यलाइ मध्यनजर गर्दै विगत एक वर्षदेखि यस्ता अभियानहरू बीच एकता गर्ने र त्यसका लागि संयुक्त वा गोलमेच सम्मेलनको प्रयास हुदै आएको थियो । 

यसका लागि सर्व प्रथम काठमाण्डौको अनामनगरमा २०८० चैत्र २९ बैठक सम्पन्न अभियन्ताहरूको संयुक्त बैठक बसी  सबै अभियन्ताहरूलाई मोर्चावन्दी गर्ने, सयुक्त सम्मेलन गर्ने र वैकल्पिक शक्ति निर्माण गर्ने निर्णय गरेको थियो । डा. निर्मल विश्वकर्माको संयोजनमा भएको सो बैठकमा दलित समुदायको अभियन्ताहरू डा. मित्र परियार, खगेन्द्र सुनार, कर्ण विश्वकर्मा, हिरा विश्वकर्मा, राजेश नेपालीको उपस्थिति रहेको थियो । यसैगरी  २०८१ साउन २९ गते काठमाण्डौमा सम्पन्न संयुक्त बैठकले नयाँ सत्ता समीकरणले दलित समुदायलाई  त्रशित बनाएको र यसको प्रतिरोध गर्न सयुक्त मोर्चा निर्माण गर्नु पर्ने निष्कर्ष निकालेको थियो । सो बैठकमा अभियन्ताहरू डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, दलमर्दन कामी, तारा सिँह विश्वकर्मा, हिरा विश्वकर्मा, दिपक विश्वकर्मा, चँचला पराजुली, प्रदिप घताल, राम चन्द्र घतानी आदिको उपस्थिति रहेको थियो । त्यस्तै काठमाण्डौको स्वयम्भुमा २०८१ भदौ ०८ गते सम्पन्न अर्को एक संयुक्त बैठकले सहकार्य, मोर्चाबन्दी, संयुक्त आन्दोलन र वैकल्पिक शक्ति निर्माण गर्ने निर्णय गरेको थियो । सो बैठकमा अभियन्ताहरू डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, प्रेम विसी, सुनिल लोहनी, ज्ञानेन्द्रकुमार राम, कमल बिम्ब आदिको उपस्थिति रहेको थियो । यसैगरी काठमाण्डौको भृकुटीमण्डपमा २०८१ भदौ ११ गते सम्पन्न संयुक्त बैठकले सहकार्य, मोर्चावन्दी, संयुक्त आन्दोलन र वैकल्पिक शक्ति निर्माण गर्ने छलफल गरेको थियो । सो बैठकमा डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार गम्भीरसिंह भुल ,सुनिल लोहनी, प्रेम कश्यप ,हिमाल के पी परियार,नवराज विक,केपी वाग्दास,कमल घिमिरे,तपेन्द्र वि.क,ढक बहादुर विक लगायत सहभागिता रहेको थियो ।

तर काठमाण्डौको जागरण मिडिया सेन्टरको हलमा २०८१ मँशिर २८ गते दलित समुदायका अभियन्ताहरूको संयुक्त बैठकले एउटा निचोड निकाल्न सहयोग गरयो र सो बैठकले गोलमेच बैठक वस्ने निर्णय गरेको थियो । सो बैठकमा डा.निर्मल विश्वकर्मा, राजेश मयाल अग्नि शिखा, सुनिल लोहनी, सरोज दिलु विश्वकर्मा, प्रदिप घताल, चँचला पराजुली, तेज नारायण राम, कृष्ण बागटी, दलमर्दन कामी, रामचन्द्र घतानीलगायतको सहभागिता रहेको थियो । मङ्सिर २८ को निर्णय अनुसार २०८१ पुष १९ गते शनिबार मा काठमाण्डौको आर आर क्याम्पस हलमा ऐतिहासिक गोलमेच बैठक बस्यो जहाँ डा. निर्मल विश्वकर्मा, डा.मित्र परियार, खगेन्द्र सुनार, राजेश मयाल अग्निीशिखा, शुनिल राम, संगीताकुमारी राम, कृष्ण विश्वकर्मा, गोपाल गहतराज र प्रदिप घतानी लगायत ५० जना अभियन्ताहरूको सहभागिता रहेको थियो । सो बैठकले २०८२ वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने र सो सम्मेलन सम्पन्न गर्नका लागि डा.निर्मल विश्वकर्माको संयोजकत्वमा सबै अभियानहरूलाई  समेटेर १०१ सदस्सीय गोलमेच सम्मेलन मूल आयोजक समिति निर्माण गरेको थियो ।

(छ) गोलमेच सम्मेलनको व्यवस्थापन 
सम्मेलन सम्पन्न गर्नका लागि डा निर्मल विश्वकर्माको संयोजकत्वमा सबै अभियानहरुलाई समेटेर १०१ सदस्सीय गोलमेच सम्मेलन मूल आयोजक समिति निर्माण गरेको छ । यसको दैनिक कार्य संचालन गर्न डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, खगेन्द्र सुनार, अग्निशिखा, तारा विश्वकर्मा, सरोज दिलु विश्वकर्मा, रेम विश्वकर्मा, प्रकाश टमटा प्रतिक, राजेश नेपाली, संगीताकुमारी राम, सुनिल राम रहेको सचिवालय गठन गरिएको छ । 
सो सम्मेलन सम्पन्न गर्न विभिन्न पाँच वटा उपसमितीहरू निर्माण भएका छन । ती उपसमितिहरूमाः डा.निर्मल विश्वकर्माको संयोजकत्वमा दलित मुक्ति विचार निर्माण,अग्निशिखाको संयोजकत्वमा आर्थिक, सरोजदिलु विश्वकर्माको संयोजकत्वमा व्यवस्थापन, तारासिहँ विश्वकर्माको संयोजकत्वमा परामर्श, रेम विश्वकर्माको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया परिचालन, प्रकाश प्रतिकको संयोजकत्वमा युवा परिचालन, राजेश नेपालीको संयोजकत्वमा सङ्घ संगठन  र जन परिचालन समिति गठन गरेको छ । 
यसै गरि भारत, मलेसिया, ओमान, कुवेत, कतार, दुबइ, साउदि अरब, युरोप, क्यानाडा, अमेरिका, अष्ट्रेलियामा देशिय प्रमुखहरु तेकिएका छन । 

(ज) गोलमेच सम्मेलनको विधि 
यो सम्मेलन तीन दिनसम्म चल्नेछ । यो गोलमेच सम्मेलनको मुख्य उद्धेश्य भनेको दलित मुक्त्तिको वैचारिक खाका निकाल्ने रहेको छ । तीन दिन मध्ये अघिल्लो दुई दिन कार्यपत्रहरूमा (वा विभिन्न अभियानका आआफना विचार वा एजेण्डा) माथि छलफल र अन्तिम दिने निचोढहरुमा छलफल गरी एकरूपता विकास गरिनेछ । यो सम्मेलनमा विभिन्न सेसनहरू रहनेछन् र विषयगत सेसनहरूको विभाजन गरिनेछ । यसमा उदुघाटन सत्र, कम्तिमा छ वटा वैचारिक कार्यपत्र वा एजेण्डा प्रस्तुत गरिनेछ । सबै वहसहरू टिपोट र जम्मा गर्न एउटा टिपोट समिति निर्माण गरिनेछ । कार्यपत्रहरूको निचोडमा छलफल गरी निष्कर्षमा पुग्नेछ । निष्कर्षमा सवैले हस्ताक्षर गरी अपनत्व ग्रहण गरिनेछ र यसलाई सार्वजनिक गरिनेछ ।
यो सम्मेलमा वर्तमान अन्तराष्ट्रिय परिवेश, दलित समुदायको पहिचान र इतिहास; दलित समुदायका सन्दर्भमा सामाजिक अन्तरद्वन्द्धको विश्लेष्ण ; राज्य सत्ता, राजनितिक पार्टी र शासकहरुको नीति, नियत र व्ययहार विश्लेषण ; दलित मुक्तिको दर्शन र सिद्धान्तः सामुदायिक समाजवाद ; सैद्धान्तिक द्धिविधामा निचोड जस्तै दलित मुक्त्तिको सवाल राजनीतिक हो कि सामाजिक हो कि धार्मिक, दलित समुदायको पहिचान, दलित शव्द राख्ने कि नराख्ने ; दलित सङ्घर्षको सिद्धान्त शान्तिपूर्ण हो कि बल प्रयोगको सिद्धान्त ; दलित महिला मुक्त्तिका सवाल ; अन्तर दलित सहकार्य ; दलित मुक्त्ति आन्दोलनमा गैरदलितको भूमिकाः सहकार्य र शँघर्षको सिद्धान्त ; धर्मलाइ हेर्ने दृष्टिकोण ; वर्ग सत्रु र मित्र शक्तिको पहिचान ; दलित आन्दोलनका दिर्घकालिन, मध्यकालिन र अल्पकालीनन कार्यक्रमहरू, प्राथमिकताहरूको निर्माण आदि सम्भाव्य सेसन वा एजेण्डाहरू हुनेछन् जसका वारेमा साझा वुझाइ विकास गरिनेछ । 
 

(झ) गोलमेच सन्दर्भमा भावि योजना 
गोलमेच सम्मेलनको अगाडि गोलमेच सम्मेलनको ढाँचा वा खाका तयार गर्ने, गोलमेच सम्मेलनको आवश्यक्ता र उद्धेश्य वारे प्रचार प्रसार गर्ने, दलित समुदायको उत्थानको लागि क्रियाशील जातीय वा वन्धुसमाज, पेशागत ससङ्गगठन, नागरिक समाज आदिसँग छलफल गर्ने, सम्मेलनमा प्रस्तुत गर्न दलित मुक्तिको नयाँ विचारका साथै दीर्घकालिन, मध्यकालिन र अल्पकालिन रणनीतिको ड्राफट तयार गर्ने, संविधान शंसोधन प्रकृयामा चनाखो रहने र अन्य अभियानहरूसँग आवश्यक्ता अनुसार सहकार्य गर्ने जस्ता कार्य गर्ने । 
गोलमेच सम्मेलनको पश्चात गोलमेच सम्मेलनले निर्णय गरे अनुसार स्पष्ट विचार सहित दीर्घकालीन, मध्य कालिन र अल्पकालीन  रणनीतिका साथ शक्ति निर्माण गरी  अगाडि बढने ।
 

प्रतिक्रिया