काठमाडौं — सिरहा भगवतीपुरकी एक दलित युवतीलाई घरभित्र झुण्डाइएको अवस्थामा मृत भेटिएको छ ।
सिरहा नवराजपुर गाउँपालिका भगवतीपुर वडा– १ की १६ वर्षीय रिकु सदा स्थानीय तीन युवाबाट गत माघ २७ गते सामूहिक बलात्कृत गरिएपछि त्यसको तीन दिनपछि उनलाई उनकै घरमा झुण्डाइएको अवस्थामा फेला परेको हो ।
तीन युवाबाट सामुहिक बलात्कार गरिएकी रिकु सदालाई गाउँमै घटना मिलाउन पञ्चायत बसेको भोलीपल्ट गत माघ ३० गते घरभित्र झुण्डाएको अवस्था भेटिएको हो ।
घरको ढोकामा बाहिरबाट चुकुल लगाइएको र भित्र छोरीलाई सुनियोजित रुपमा झुण्डाएको रिकुका बाबु विजुलीय सदाले बताएका छन् । छोरीलाई झुण्डाएको परिवारको आरोप छ ।
१६ वर्षीय रिकु सदा बलात्कृत भएको दुई दिनपछि माघ २९ गते गाउँमै घटना मिलाउन पञ्चायत बसेको थियो । उक्त घटना मिलाउन पञ्चायतले तीन युवाहरुलाई १ लाख ५० हजार जरिवाना तोकेका थिए । तीन युवाहरुलाई जरिवाना तोकिएको पैसाको बाँडफाँडको विषयमा पञ्चहरुबीच झगडा भएको थियो । झगडा बढ्दै गएपछि पञ्चायत यत्तिकै उठेको थियो । पञ्चायत राखेर जरिवाना विवाद र झगडा गरेर उनीहरुले छोरी र आफुहरुलाई थप पीडा विभेद गरेको विजुलीय सदाले बताए ।
भगवतीपुर वडा १ का वडा अध्यक्ष नविन कुमार यादवले घटनाको बारेमा प्रहरीबाट जानकारी पाएको बताए । तीन युवाहरुले घटना हुनुभन्दा अघि सामुहिक बलात्कार गरेको विषयमा गाउँमै जानकारी पाए पनि आफुलाई पञ्चायतमा नबोलाएको यादवले बताए । ‘वडामा जानकारी नगरी आफुहरुले घटना मिलाउन खोज्नु भएको जस्तो देखिन्छ, ‘तर मलाई घटनाको कुनै जानकारी छैन ।’
प्रतिक्रिया