रिंकु र प्रकृतिको न्यायका लागि सिराहामा विरोध प्रदर्शन

सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएकी सिराहाकी रिंकुकुमारी सदाय र भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको अस्वाभाविक मृत्यु घटनामा सिराहामा विरोध प्रर्दशन गरिएको छ ।

सिराहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले शुक्रबार ‘रिंकु र प्रकृतिको’ न्याय माग्दै, विरोध प्रदर्शन गरेका हुन् । 
विद्यार्थीहरुले ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’लगायतका नारासहित सिराहा बजार क्षेत्र परिक्रमा गरेका छन् । विद्यार्थीहरुले दुवै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् । 

रिंकुले गत २७ माघको राति आफूलाई घरबाटै अपहरण गरेर सामूहिक बलात्कार गरिएको जानकारी गराउँदासमेत पञ्चायतीले आर्थिक लेनदेनमा घटना मिलाउने निर्णय गरेको थियो ।  गत माघ ३० गते साँझ रिंकु घरमै मृत भेटिएकी थिईन् ।

त्यसैबिच, मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री राजकुमार लेखीले शुक्रबार पत्रकार सम्मेलन गर्दै रिंकु सदायको मृत्यु प्रकरणसँग जोडिएका आरोपी छिट्टै पक्राउ पर्ने दाबी गर्नुभएको छ ।

यसैबिच, सरोकारवालाहरुले दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा भइरहेको उत्पिडन र दमन गर्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया