नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’को प्रिमियर हुने

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ फिल्मको घोषणा गर्दै

काठमाडौं । 
नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर हुने भएको छ । 
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ फिल्मको घोषणा गर्दै उक्त फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरको तयारी गरेको हो । 
नवीन सुब्बाद्धारा निर्देशित उक्त फिल्म २० जुन २०२४ मा ओपनि स्क्रिनिङ गरिने भएको छ ।
यस अघि सन् २०२३ मा टोरन्टोबाट विश्व प्रिमियर सुरु गरिएको  ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा प्रिमियर गरिईसकेको छ । नेपाल र डायस्पोरा चाहिँ जेठ २५ गते (जुन ७)मा रिलिज गरिने भएको छ । 
आमोद राईद्धारा निर्मित ‘गाउँ आएको बाटो’ फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय रहेको छ । गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आएको उतारचढावको कथालाई यस फिल्ममा उतारिएको छ ।
उक्त फिल्मको ओपनिङ स्क्रिनिङसँगै क्लोजिङ स्क्रिनिङमा भने ‘द रेड सुटकेस’ले समापन गरिने भएको छ । उक्त फिल्म भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको हो । रामकृष्ण पोखरेलको निर्माणमा तयार भएको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन गर्नुभएको छ ।
उक्त फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको छ । फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गरेको छ । उक्त फिल्म अमेरिकामा पहिलोपटक स्क्रिनिङ गर्न लागिएको हो ।
नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीका अनुसार फेटिभलको पूर्ण लाइनअप चाँडै सार्वजनिक गरिने भएको छ । 
उहाँले ‘गाउँ आएको बाटो’ फिल्मका निर्माता राईले फेस्टिभलको ठाउँ पाएर खुसी लागेको बताउनभयो । ‘सांस्कृतिक विविधतालाई मनाउने यो राम्रो अवसर हो’ उहाँले भन्नुभयो ।
नेपाल अमेरिका फिल्म फेस्टिभल, जुन २० देखि २३ (असार ६ देखि ९)सम्म अमेरिकाको मेरिल्याण्डमा आयोजना गरिदैछ । 

प्रतिक्रिया