१६ असोज २०८१, काठमाडौ
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान ) र स्पाइनल कर्ड इन्जुरी नेटवर्कको सहकार्य तथा Disability Rights Fund र Disability Rights Advocacy Fund को साझेदारीमा काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ ।
असोज १५ र १६ गते काठमाडौँमा आयोजना गरिएको उक्त कार्यक्रममा अपाङ्गता विज्ञ तथा अधिकारकर्मी मनिष प्रसाईँले कार्यक्रमको सहजीकरण गर्दै अपाङ्गता प्रतिको साझा बुझाई र अपाङ्गता समावेशी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नुका साथै अपाङ्गता समावेशी कार्यक्रम, लक्षित कार्यक्रमका विषयमा जानकारी गराउनु भयो । यसै क्रममा उहाँले परिचय पत्र वितरण, अपाङ्गता पहिचान तथा परामर्श, अपाङ्गता सम्बन्धी जनचेतना, पारा खेलकुद, सहयोगी सेवा, हेरचाह सेवा, अपाङ्गताका विभिन्न सवाल केन्द्रित छलफल, गोष्ठी, तालिम र सेमिनार लगायतका कार्यक्रमहरू हुने बताउनु भयो ।
स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनका क्रमको कार्यक्रमका प्रमुख अतिथि एवं दिगो विकास तथा सुशासन समितिका पूर्व सभापति प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि स्थानीय तह देखि नै सबै मिलेर उनीहरूका लागि कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा टोखा नगरपालिकाकी कार्यपालिका सदस्य शान्त राईले सबैका लागि समान शिक्षा भनिएता पनि अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताको अनुकूलताका आधारमा सहज रूपमा शिक्षा लिन नपाएको, अपाङ्गता मैत्री भौतिक संरचना निर्माणको सुरुवात भएता पनि पहुँचयुक्त संरचनाको अभाव रहेको भन्दै आगामी दिनमा नगरपालिकाका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने बताउनु भयो ।
त्यसै गरी बुढानीलकण्ठ नगरपालिका वडा नं ६ की वडा सदस्य मेनुका भूषालले स्थानीय सरकारले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्न नसकेको भन्दै अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले उनीहरूका लागि गरिएको कामको तथ्याङ्क लिनु पर्ने, गरिएका कामको प्रभावकारिताका विषयमा विभिन्न समयमा अनुगमन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
उक्त दुई दिने अभिमुखीकरण कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका महासचिव गणेश के.सी.ले अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट प्राप्त गर्ने सेवा तथा सुविधाहरू र उपभोगका चुनौतीहरूको विषयमा, Disability Rights Fund का अधिकृत कृष्ण गहतराजले अपाङ्गता समावेशी विकास र यसको आवश्यकताका विषयमा, आर.सी.आर.डी. भक्तपुरका निर्देशक सूर्यभक्त प्रजापतिले समावेशी समाज निर्माणमा स्थानीय सरकारको आधारभूत भूमिका र पद्मकन्या कलेजकी उपप्राध्यापक तथा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान ) की अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता समावेशी विकास र अन्तरसम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यसै गरी आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका अध्यक्ष टेक बहादुर गुरुङले यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वावलम्बन बनाउनका लागि स्थापनाकाल देखि नै विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गरेर काम गर्दै आएको भन्दै स्थानीय निकायहरूले पनि आफ्ना नियमित कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वाबल्मवन जीवन पद्ती केन्द्र काठमाडैले पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहायता तथा सेवामा पहुँच पुर्यउनका लागि सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्दै आएको एक गैरसरकारी संस्था हो । यस संस्थाले पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यकता अनुसारको उपकरण, सामग्री सेवा, शिक्षा, स्वास्थ्य, गमनशीलता, रोजगारी, राजनीतिक अधिकार, नीति नियम तथा ऐन कानुन निर्माण लगायतका सवालमा वकालत तथा पैरवी गर्दै आएको छ ।
प्रतिक्रिया