बाख्रा हराएको निहुँमा कैलालीमा पत्रकारको मृत्यू

राष्ट्रिय दलित पत्रकार संघ कैलालीका सहसचिव सुरेश भूलको कुटपिटबाट मृत्यू भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका ११ कान्तिपुर टोल बस्ने भुललाई गत कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गर्दा पत्रकार भूलको मृत्यू भएको हो । 

कुटपिटबाट गम्भीर घाइते पत्रकार सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको भन्दै निजप्रति नेपाल पत्रकार महासंघ कैलालीले विज्ञप्ति मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
साथै घटनामा संलग्न दोषीहरूलाई यथाशिघ्र कानुनी कारबाहीको दायरामा ल्याउन पत्रकार महासंघ कैलालीले सरकारसँग माग गरेको छ ।

घटनाको अनुसन्धानका लागि महासंघले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ । टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्नेछ । 

कैलालीको गौरीगंगा–११ का पत्रकार सुरेश भूल निगरानी डटकममा रिपोर्टिङ पनि  गर्नुहुन्थ्यो । पत्रकार सुरेश भूलको गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ को कार्यालय नजिकै कान्तिपुर टोलमा मेडिकल, फोटो स्टुडियो र फोटोकपीको पसल रहेको छ । कात्तिक २० गते सोही टोलकी विस्ना भूलको बाख्रो हराएको स्थानीय सबैलाई थाहा थियो ।
बाख्रा हराएको भोलिपल्ट, मृतक सुरेशले वडा कार्यालयको शौचालय नजिकै एउटा बाख्रो बसिरहेको देखेको उनका आफन्त कर्ण सार्कीले बतााएका थिए । 
मेडिकलमै बस्ने भएकाले सुरेश शौचालयका लागि वडा कार्यालयको शौचालय प्रयोग गर्ने गर्दा त्यो दिन एकाविहानै वडा कार्यालयको गेट नजिकै बाख्रो बसिरहेको देखेको र विहानै जाडोले काँपिरहेको बाख्रो समातेर आफ्नो मेडिकल नजिकै बाँधेर राखे । 
त्यो दिनभरी पसलमा बाख्रा लैजाने मान्छे कोही आएनन । तर, बाख्रो सुरेशको मेडिकलको बाहिर बाँधिएको कुरा विस्नाको घरसम्म पुगेपछि उनका आफन्तहरूले समूहमै आएर अस्थायी प्रहरी चौकी मसुरियामा सुरेशले बाख्रो चोरेको भन्दै उजुरी गरेका थिए । 
प्रहरीमा उजुरी परेपछि मृतक सुरेशको श्रीमती, आफन्त र बाख्रा मालिकका आफन्तहरूबीच बाख्राबापतको ३० हजार रकम दिने र बाख्रो पनि दिने सहमति भयो । 

कागज बनेपनि सुरेशले रकम भने दिएका थिएनन् । गत शनिबार बेलुकी ठूलो संख्यामा बाख्राधनी विस्नाका आफन्त र छिमेकीहरूले रकम नदिएको भन्दै सुरेशको मेडिकलमै आएर मरणासन्न हुनेगरी कुटपिट गरपछि उहाँको मृत्यू भएको थियो । 
मृतक सुरेशमाथी ३० हजार नभई एक लाख रकम कुटपिट गरेका थिए । मृतक सुरेशले आफूले बाख्रो नचोरेको तर भेटाएको बताउँदै गर्दा अकस्मात कुटपट गरिएको् थियो । 
मृतक सुरेशका भाइका ससुरा करन सार्की अनुसार त्यत्रो ठूलो समहुले लात्ताले छातीमा हाने, कसैले गुप्तांगमा,’ हान्दा मृत्यू भएको बताएका छन् । 

४०÷५० जनाको समूहमा आएर कुटपिट गरेपछि गम्भीर भएका सुरेशको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

घटनामा संलग्न आरोपीत ८ जनालाई कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका ११ का स्थानीयसमेत रहेकी ४५ वर्षकी बाख्राधनी विस्ना भूल, ५५ वर्षका जंगबहादुर भूल, २८ वर्षका विशाल विक, ३१ वर्षका दिनेश विक, १९ वर्षका दिनेश भूल, ३८ वर्षकी रमा रावल, ३१ वर्षका धर्म विक र २७ वर्षका रमेश रावललाई पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो  

मृतक सुरेशकी श्रीमती कल्पना भूलले रमेश रावल बाहेकका ८ जनाविरुद्ध किटानी जाहेरी दिएकी थियो । किटानी जाहेरी दिएकामध्येका पवन बोगटी भने फरार रहेको र निजको खोजी भइरहेको इलाका प्रहरी मालाखेती अत्तरियाले जनाएको छ ।
सुरेशको शव पोस्टमार्टम गरी बुधबार बेलुकी दाहसंस्कार गरिएको छ । पोस्टमार्टको रिपोर्टले सुरेशको छाती, प्राइवेट पार्टमा गहिरो चोट देखाएको छ । 

अहिले पत्रकार सुरेश भूलको कुटपिट गरी हत्या गरिएको घटनाको विभिन्न पेशागत संघसंगठन तथा अधिकारकर्मीहरूले विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय राष्ट्रिय दलित पत्रकार संघ केन्द्रिय कायार्लय, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, कैलाली जिल्ला समिति, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी, सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीसहितका संघसंगठनहरूले विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । 

प्रतिक्रिया