डेढ वर्षपछि बस्दै माओवादीको केन्द्रीय बैठक

डेढ वर्षपछि बस्दै माओवादीको केन्द्रीय बैठक

काठमाडौँ — माओवादीको महाधिवेशन भएको डेढ वर्ष बिते पनि केन्द्रीय समितिले पूर्णता पाएको छैन । महाधिवेशनबाट पारित निर्णय नै अलपत्र छन् । केन्द्रीय सदस्यको संख्या ६ सय नाघे पनि अझै थप्नुपर्ने दबाब छ । पटकपटक स्थगित हुँदै आएको केन्द्रीय समितिको पूर्ण बुधबारदेखि सुरु हुँदै छ । २०७८ पुसमा महाधिवशेनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको थियो । पदाधिकारी र स्थायी समिति सदस्य चयन गरेपछि बैठक फेरि बस्न सकेन । 

महाविधेशनका अलपत्र एजेन्डाहरू केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ । गत मंसिरमा आम निर्वाचनपछि माओवादीले संघीय र दुई प्रदेश सरकारका साथै १२१ स्थानीय सरकारको नेतृत्व गर्दै आएको छ । अध्यक्ष दाहाल आफैं प्रधानमन्त्री भएपछि संगठनका कामकारबाही झन् सुस्ताएका छन् । नेताहरूले जिम्मेवारी नपाउँदा प्रायः सबै संगठन, विभाग ‘प्यारालाइज्ड’ अवस्थामा पुगेका छन् ।

केन्द्रीय समिति बैठक गरी नेताहरूको कार्यविभाजन गर्न नेताहरूले दबाब दिए पनि अध्यक्षले पहल नगरेको गुनासो पार्टीभित्र छ । महाधिवशेनमा दाहालले पार्टी नयाँ शिराबाट बदल्ने र नेता तथा कार्यकता पनि बदलिने बताएका थिए । ‘पहिले हामी आफैं बदलिनुपर्छ । हामीले नै आत्मसमीक्षा गर्नुपर्छ । श्रम र जनतासँग जोडिने नयाँ संस्कारको विकास गर्नुपर्छ,’ उनको घोषणा थियो, ‘नेता तथा कार्यकर्ता जनतासँग घुलमिल भएर सँगै खाने र सँगै बस्ने नयाँ भ्रूण दिने कोसिस भएको छ ।’ महाधिवेशनपछि माओवादीले जन्माउन खोजेको भ्रूण सत्तामा विकसित भएको टिप्पणी पार्टीभित्रै हुन थालेको छ ।

माओवादीले धेरैपटक संगठन चुस्त गराउने नारा अघि सारे पनि त्यो कार्यान्वयन हुन सकेन । हाल केन्द्रीय समितिमा ४०९ केन्द्रीय र १९९ वैकल्पिक गरी ६०८ जना छन् । ‘आफू छुट्नु हुँदैन तर समिति चुस्त हुनुपर्छ धेरै कमरेडको भनाइ पाइन्छ,’ स्थायी समिति सदस्य कालीबहादुर मल्लले व्यंग्य गरे । २०७३ सालमा सबै आकांक्षीलाई समेट्न खोज्दा केन्द्रीय सदस्यको संख्या ४ हजार पुगेको थियो ।

नेताहरूले पनि निकट र आफन्तलाई राख्न खोज्दा आफैंले भार धान्न नसक्ने गरी समिति बनेको छ । ‘मुख्य नेताहरू संगठनको काममा केन्द्रित नभएर पनि पार्टी निर्णय कार्यान्वयन हुन सकेनन्,’ सचिव डिलाराम आचार्यले भने, ‘यसपटक हामीले मुख्य नेताहरू नै संगठनको काममा केन्द्रित हुनुपर्ने सुझाव दिएका छौं ।’ मंगलबार बसेको संगठन विभाग बैठकले पदाधिकारी, स्थायी र केन्द्रीय सदस्य अनिवार्य रूपमा संगठनको काममा खट्नुपर्ने सुझाव ‘हेडक्वाटर’ लाई दिएको छ । ‘मुख्य नेताहरूले पार्टीको जिम्मेवारी लिने तर अरू नै काममा व्यस्त भएकाले विगतमा प्रभावकारी काम हुन सकेन,’ उनले भने, ‘त्यसकारण यसपटक विगतको गल्ती दोहोर्‍याउन नहुने सुझाव दिएका छौं ।’

Reference:

https://ekantipur.com/news/2023/08/02/169093739190317961.html

प्रतिक्रिया