जुम्लामा सामाजिक कुरीतिविरुद्ध देउडा प्रतियोगिता

सन्देशमुलक देउडा प्रतियोगिताहरुमा भाग लिएर राम्रो स्थान ल्याउँदै

जुम्ला — जुम्ला गुठिचौर ४ की रामछाया पाण्डे गाउँ टोलहरुमा बालविवाह विरुद्धको देउडा भाका पस्किरहेकी छिन् । उनीसँग ४ जना महिलाहरुको टिम नै छ । त्यो टिमले बालविवाह लगायतको सामाजिक कुरीतिविरुद्धको सन्देश फैलाइरहेको छ । मेला पर्वहरुमा,विवाह,भोजहरुमा वा कुनै पनि सुखद कार्यहरुमा गाइने देउडा भाकाहरु उनीहरुले सन्देशमुलक बनाइरहेका छन् । 

उसो त उनको समूह सन्देशमुलक देउडा प्रतियोगिताहरुमा भाग लिएर राम्रो स्थान ल्याउँदै आएको छ । सामान्य बोलीचालीका शब्दहरू देउडाभाडामा प्रस्तुत हुने भएकोले स्थानीयले सहजै बुझ्ने गरेका छन् । ,‘भाषण गर्दा,प्रशिक्षण दिइरहँदा धेरै शब्दहरु नबुझिने हुन सक्छन्,'रामछायाले भनिन्,‘गाउँटोल भित्रै बोलिने भाषाको प्रयोग हुने भएकोले छिटो सन्देश फैलाउन सकिन्छ । यो अहिलेसम्मको अनुभव पनि हो । ’

देउडाबाटै उनीहरुले सामाजिक कुरीतिहरुको अवस्था दर्शाउने गर्छन् । कुरीतिहरुले गर्ने हानीनोक्सानी र जोगिने उपायका बारेमा राम्ररी लय मिलाएर सन्देश दिइरहेका हुन्छन् । पछिल्लो समयमा बालविवाह,छाउपडी प्रथा विरुद्धको सन्देश देउडाबाटै फैलाउने स्थानीय देउडा कलाकारको रुपमा परिचित छिन् चन्दननाथ १० की देवकी खत्री ।

उनी धुम्रपान वा मध्यपान,छाउपडीप्रथा ,बालविवाह,बहुविवाह अन्त्य गर्नेदेखि लोप हुँदै गइरहेको रैथाने बालीहरु जोगाउने उपायका बारेमा समेत देउडाभाका सुनाइरहेकी छिन् । सात जनाको उनको टिमले देउडाका विभिन्न भाकाहरुको प्रयोग गरेर जनचेतना फैलाइरहेको छ । 

देवकी भन्छिन्,‘बालविवाह फैलँदो अवस्थामा छ । जसले किशोरकिशोरीहरुको स्वास्थ्य खतरामा देखिन्छ । अब सबै मिलेर समाजमा रहेको हानिकारक अभ्यास रोक्न हातेमालो गर्नुपर्छ । समाजमा सचेतना फैलाउने जे जति माध्यम छन । ति सबैको प्रयोग गरेर अघि बढ्नुको विकल्प छैन । ’

विश्व रेडियो दिवशका अवसरमा जुम्लामा तीन दिनदेखि बालविवाह विरुद्धको सन्देशमुलक देउडा प्रतियोगिता चलिरहेको छ । देउडा मार्फत् महिलाहरुले बालविवाह अपराध हो । बालविवाह गर्ने गराउने दुवैलाई कानुनी कार्बाही हुनुपर्छ भन्ने सन्देश फैलाए । उनीहरुले आूहरुले बालविवाह गरेका कारण पाठेघर खस्ने,बच्चामा कुपोषण हुने,शैक्षिक प्रगतिमा बाधा पुग्ने जस्ता समस्या भोगेको अनुभति दर्शाए । साथै बालविवाह गर्दा, छाउपडी प्रथा मान्दा हुने नोक्सानीहरुले समाजमा अपूरणीय क्षति व्योहोरीरहेको भाकाहरुमा समेटेका थिए ।

२० वटा देउडा समूह सहभागी भएको सो प्रतियोगितामा बालविवाह नगर्न आग्रह गरेका छन् । उनीहरुले सबै मिले मात्र रोक्न सकिने भएकोले हातेमालो गरेर अघि बढ्न सुझाव दिए । उनीहरुले अत्यधिक मदिरापान,लागुऔषधको दुर्व्यसनी रोक्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न आव्हान समेत गरे ।

जनप्रतिनिधि,कर्मचारीहरु,संघसंस्थाका प्रतिनिधिहरु एकै थलोमा भेला भएको अवसरमा कानुन कार्यन्वयनको अवस्था फितलो भएको गुनासो सुनाए । जिल्लाको एक नगरपालिका,सात गाउँपालिकाका ६० वटै वडाहरुमा सुन्देशमुलक कार्यक्रमहरु गरेर हानिकारक अभ्यासहरु रोक्न समेत देउडाबाटै उनीहरुले भनेका छन् । जिल्लाको रेडियो कर्णाली,रेडियो नारी,रेडियो खुलाआकाश र रेडियो माउन्टेन एफएमले देउडा प्रतियोगिताको आयोजना गरेर बालविवाह विरुद्धको सन्देश फैलाउन इटा थपेका हुन् । 

रेडियो कर्णालीका स्टेशन म्यानेजर गोर्खबहादुर थापाले सामुदायिक रेडियोहरुले समुदायसँग मिलेर सचेतना फैलाउने कार्य गरिरहेको बताए । उनले भने,‘समुदायमा रहेका कला र गलाको सम्मान गर्दै उनीहरुको प्रयोग र परिचालनको माध्यमबाट समाज परिवर्तनको सन्देश फैलाइरहेका छौं । ’

source:ekantipura.com 

प्रतिक्रिया