अमेरिकाको सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवन खरिद गर्ने सपना पुरा

काक्तिक ६गते, न्यूयोर्क । 

अमेरिकाको  प्रख्यात शहर सान् फ्रान्सिस्कमा नेपाली सामुदायिक केन्द्रको  भवन खरिद हुने भएको छ । अमेरिकाकै पुरानो संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिद अफर स्वीकृत भएपछी भवन किन्ने बाटो खुलेको हो ।

हजारौं नेपालीको बसोबास रहेको यो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पुरा हुने भएको छ । हालै नेपालीको बढी बसोबास रहेको रिचमण्ड शहरको हलसहितको एक ठुलो भवन धनीले नान्सलाई बिक्रि गर्न सहमत भएको छ । उक्त भवन खरिद गर्न  ६० हजार अमेरिकी डलरमा बैना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो ।

१० हजार ८ सय वर्ग फिटको उचाई भएको उक्त सुुविधा सम्पन्न भवनमा ५सय २८ जना क्षमताको सभाकक्ष सहित २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । त्यसैगरी भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था पनि रहेको छ ।

भवनको २१ लाख ७० हजार अमेरिकी डलरमा मुल्य राखी बिक्रीमा राखिएको थियो । तर नान्सले बिक्री प्रतिनिधिसँगको पटक–पटक वार्ता गरि १८ लाख ६० हजारमा खरिद गर्ने नान्सको प्रस्ताबमा घरधनी सहमत भएको महासचिव यज्ञ नेपालले बताउनुभयो । अब २ महिनाभित्र करिव २० प्रतिशत सुरु भुक्तानी (डाउन पेमेन्ट) गरेपछि भवन हस्तान्तरण गरिने भएको छ । यसका लागि करिव ४ लाख डलर नगद आवश्यक पर्छ । 

नान्सका अध्यक्ष कार्की बे एरियामा बस्ने नेपालीले वर्षौदेखि देखेको साझा सपना पुरा गर्न एकजुट हुनुपर्ने बताउनुभयो ।  ‘डाउन पेमेन्टको रकम संकलन, ऋण लिएर भवन पास गर्ने र मोर्गेज रकम व्यवस्थापनका निम्ति सबै मिलेर काम गर्नुछ उहाँले भन्नुभयो,‘सिंगो समुदाय एकजुट हुँदा यो सबै चुनौती सहजै पार लाग्छ भन्ने विश्वास छ ।’ कार्कीका अनुसार यो हप्तादेखि विशेष अभियान सहित सबै नेपाली समुदायको टोल–टोलमा पुगेर रकम संकलन गरिने तयारी छ ।  

चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक साँस्कृतिक कार्यक्रम गर्न सामुदायिक केन्द्रको आवश्यकता परेको अगुवाहरुको भनाई छ । सन् २००६ मा निर्माण भएको नयाँ र चिटिक्क परेको छ । कुनैपनि मर्मत सम्भार बिना किनेको भोलिपल्टैदेखि कार्यालय सञ्चालन तथा अन्य गतिबिधि गर्न सकिने अवस्थाको छ ।  

प्रतिक्रिया