पशुपतिको गौशालामा गाई पूजा
काठमाडौँ, कात्तिक १७ गते । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले पशुपतिको गौशालामा गई गाईको पूजाआजा गर्ने गर्दछ ।
आज पशुपति आश्रममा बटुकहरुले गाई र गोवर्धन पूजा गरेका छन् । गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर नैवेद खना दिएर पूजा गरिएको छ ।
कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ।
गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
Source: gorkhapatraonline
प्रतिक्रिया