काठमाडौँ, कात्तिक ७ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरी दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गर्नुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा आयोगका अध्यक्ष विकले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यहरूलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदहरूले पनि उठाउनु पर्नेमा जोड दिएको बताउनुभयो ।