बास्केटबल कप्तान श्रेया उत्साहित, एसियन गेम्समा खेल जित्ने लक्ष्य
७ भदौ, काठमाडौं । एक महिनापछि चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने २९ खेलमध्ये एउटा खेल हो- थ्री अन थ्री महिला बास्केटबल ।
फुलकोर्ट बास्केटबलभन्दा फरक थ्री अन थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो पटक सहभागिता जनाउन लागेको हो ।
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा नेपालको महिला टोलीले फुल कोर्ट बास्केटबल नै खेलेको थियो । तर त्यसपछि भने नेपालले थ्री अन थ्री मात्र खेलेको छ । यस पटक त बास्केटबलमा नेपालको महिला टोलीमात्रै सहभागी हुने छ ।
एसियन गेम्समा पदक जित्नु नेपालका लागि ठूलो चुनौती बनिसकेको छ । धेरै जसो खेल र खेलाडीका लागि सहभागी हुन पाउनु र अनुभव बटुल्नु नै ठूलो अवसर हो । बास्केटबलका लागि बलिया टिमसँग खेल्न पाउनु नै सिक्ने अवसर हुनेछ । नेपाली टिमले एसियाली खेलकुदमा पदक भन्दा पनि खेल जित्ने लक्ष्य राखेको छ ।
कप्तान श्रेया खड्काले भनिन्, ‘हाम्रो लक्ष्य लिग चरणमा खेल जित्ने नै हो । अर्को भनेको ठूला टिमसँग खेल्दा धेरै सिक्ने अवसर पनि पाइन्छ ।’
एसियाली खेलकुदको अनुभवले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने उनको लक्ष्य छ । ‘१३औं सागमा हामीले रजत पदक जित्यौं । अब पाकिस्तानमा हुने १४औं सागमा स्वर्ण जित्ने रहर छ र त्यही नै म र हाम्रो टिमको लक्ष्य पनि हो’, उनले सुनाइन् ।
Reference : https://www.onlinekhabar.com
प्रतिक्रिया