दलितले बनाएको देश

नेपाली समाजका सन्दर्भमा दलित अछूत वा पानी नचल्ने बनाइएको उत्पीडित समूह वा समुदायका रूपमा चित्रित छ ।

अनौपचारिक ज्ञान, सीप र प्रविधि अनि श्रमको विकास यो देशमा कसैले गरेको छ भने दलित समुदायले गरेको छ । नेपाल दलित समुदायको आँसु, रगत, पसिना र साधनाले बनेको मुलुक हो । दलित देशनिर्माता मात्र हो, देशघाती होइन ।

काठमाडौँ — दलित हिन्दु समाजको वर्ण व्यवस्थाअनुसार अछूत करार गरिएको, ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रमध्ये सबैभन्दा पीँधमा राखिएको र तल पारिएको सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पछाडि छोडिएको वर्ग र समुदाय हो । नेपाली बृहत् शब्दकोशले दलित भनेको दमन गरिएको, दलिएको, थिचिएको, कुल्चिएको, नष्ट गरिएको भनेर अर्थ गरेको छ ।

नेपाली समाजका सन्दर्भमा दलित अछूत वा पानी नचल्ने बनाइएको उत्पीडित समूह वा समुदायका रूपमा चित्रित छ । दलित विमर्शबारे दलित आन्दोलनका नेताहरूको तर्क छ, ‘दलित शब्द कुनै उत्पीडक समुदायले हेपेर, अपमान गरेर वा षड्यन्त्र गरेर दलितलाई दिएको परिचय होइन, भारत र नेपालको दलित आन्दोलनले आफ्नो मुक्तिको संघर्ष चलाउने क्रममा आफैंले निर्माण गरेको गौरवमय परिचय हो ।

परम्परागत समाजले भिराएको कलंकपूर्ण अछूत परिचयको अस्वीकृति हो ।’ दलित परिचयविहीन र पहिचानविहीन समुदाय होइन । दलितको आफ्नो योगदान छ । योगदानको अर्को नाम पहिचान हो । दलितसँग श्रम, सीप, साधना, कला र प्रविधिको विरासत छ । अन्य समुदायसँग भन्दा बेग्लै क्षमता छ । दुःखसँग हजारौं वर्ष भिडेर बाँचेको क्षमताले दलित समुदाय अस्तित्वमा छ ।

दलित समुदायका केही अगुवा आफ्नो नाम, थर र गोत्रमा गर्व गर्न लायक कुरा छैन, त्यसैले दलित समुदायको पहिचान छैन र आवश्यक लाग्दैन भनेर तर्क गर्छन् । के दलित समुदायभित्र पर्ने मान्छेको आफ्नो सामूहिक परिचय, विशिष्ट ज्ञान, अनुभव र सीपको साझा परिचय छैन ? अवश्य नै छ । जस्तै— दलित समुदायका विभिन्न बाजागाजा, दलित समुदाय र श्रमजीवी समुदायनिर्मित आरन, ढिकी, जाँतो, पानीघट्ट, कुटो, कोदालो, घरेलु हतियारलगायतका तत्कालीन प्रविधिको विकास र आविष्कार दलित समुदायको योगदान हो ।

कसैले इतिहास लेखिदिएन भनेर इतिहासविहीन हुने, कसैले परिचय दिएन भनेर परिचयविहीन हुने, कसैले महत्त्व दिएन भनेर महत्त्वविहीन हुने पक्कै होइन । लेख्न छोडेको र छुटाइएको इतिहास हो, इतिहास नभएको होइन । महत्त्व नभएको होइन, नदिइएको हो । वर्चस्वशाली वर्ग, त्यसका मतियार र उसको नियतले श्रम, कला, सीप र प्रविधि अनि आविष्कारको अवमूल्यन गरिएको हो । आफ्नो अधीनस्थ बनाएरै राखिछोड्ने अभीष्टले दलित समुदायप्रति वक्रदृष्टि परेको हो । वास्तवमा यो देश श्रमजीवी, इलमी, मिहिनेती अनि सीप र प्रविधिका धनी दलित समुदायको पसिनाले बनेको हो ।

गरिब मजदुर, किसान र श्रमिकको पसिनाले नभिजेको कुनै भूमि छैन । आदिम युगको समाचार संवाहक, प्राविधिक, नवीन आविष्कारक, कला साधक, वैज्ञानिक र इमानदार मान्छेहरूको समुदाय हो— दलित । त्यसैले इतिहासविहीन बनाइन र किनारीकृत बनिरहन सक्दैन यो समुदाय । अब लेख्नुपर्छ दलितको इतिहास, उसकै हातले । पुरानो इतिहास भञ्जन गरेर नवनिर्माण र नवयुगको इतिहास निर्मितिमा लाग्नुपर्छ देश । इतिहासमा गुमनाम पारिएका समुदायको आविष्कार र मिहिनेतमा कुँदिएको छ दलितको इतिहास । दलितको इतिहास छैन भन्ने भाष्यको प्रतिभाष्य हो— यो देश दलितनिर्मित हो ।

वर्तमान हिजोको इतिहास हिँडेर आएको मार्ग हो, तसर्थ इतिहास नहुने कुरा हुँदैन । फरक यत्ति हो— इतिहास शक्तिशालीको लेखिन्छ । शक्तिहीनको इतिहास दबाइन्छ, लेखिँदैन । कदाचित् लेखियो भने पनि अपूर्ण लेखिन्छ, बंग्याएर लेखिन्छ । अपमान गर्न लेखिन्छ । यो संसारभरको प्रभुत्वशाली वर्गले अपनाएको समान सिद्धान्त र मानदण्ड हो । गरिबको इतिहास, श्रमजीवीको इतिहास श्रम, पसिना र कलाले लेखिएको हुन्छ । त्यसैले दलितको इतिहास दलितसम्बद्ध ज्ञान, सीप, कला, श्रम र जनश्रुतिमार्फत उत्खनन गरिनुपर्छ ।

इतिहासविहीन दलित

आफूमाथि इतिहासमा भएको बर्बर यातना दलित समुदायका पुराना पुस्तामा जीवन्त पाइन्छ । मनुस्मृति र गौतम धर्मसूत्रमा शूद्रलाई दिने दण्डको प्रावधानबाट इतिहासमा दलित समुदायलाई अछूत भनेर कस्तो बर्बर यातना दिइन्थ्यो र कति कुरामा बन्देज थियो भन्ने प्रस्ट हुन्छ ।

तत्कालीन धार्मिक कानुनको अध्ययनबाट दलित इतिहासको कस्तो कालखण्ड गुजारेर यहाँसम्म आइपुगेका हुन्, मूल्यांकन–विश्लेषण गरेर निष्कर्ष निकाल्न सकिन्छ । तसर्थ दलित, उपेक्षित र जनसाधारणको इतिहास इतिहासको गर्त उधिनेर खोजिनुपर्छ तब मात्र सामाजिक न्यायको प्रारम्भ हुन्छ । विगतमा ज्ञानको सत्ता र कथित औपचारिक ज्ञान एउटा वर्गको नैसर्गिक अधिकारजस्तो थियो । त्यति बेला दलित समुदायसहित अन्य उत्पीडित समुदायको औपचारिक इतिहास लेखिन सम्भव थिएन । त्यसैले लिखित इतिहास नभए पनि श्रुतिपरम्परा, स्मृति, किंवदन्ती, विभिन्न भनाइ र भूगोल, कला–संस्कृति, तिनले संवहन गरेका सूचना संकेत र विश्लेषण दलित इतिहासका आधार र जग हुन् ।

दलित शब्द

भारतीय भूमिमा सन् १९३० तिर दलितलाई ‘अप्रेस्ड क्लासेज’ भनिन्थ्यो । त्यही शब्दावली नै आम दलित बुझाउने नाम थियो । सन् १९२० को आसपासदेखि कथित अछूतहरूको संघर्षलाई अगाडि बढाउने काम भीमराव अम्बेडकरद्वारा भएको थियो । कतिपय ठाउँमा उनले दलित शब्द प्रयोग गरेको देखिन्छ ।

सन् १९६५ पछि भारतमा ‘दलित प्यान्थर मुभमेन्ट’ अगाडि आयो (आहुति, जातवार्ता, पृ. ३५–३६) । नेपालमा २०११ साल र २०१८ सालदेखि नै प्रचलनमा रहेको र २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ नामक संगठनका सन्दर्भमा सर्वप्रथम प्रयोग गरिएको दलित शब्द नै छाता नाम भएको हुँदा दलित पहिचान र परिचय असान्दर्भिक छैन । कतिपय अवस्थामा दलितका श्रम, सीप, कला र श्रुतिपरम्परामा इतिहास पाइन्छ । नेपालको संविधान–२०७२ का धारा २४, ४० र २५५ मा दलित विषयका विविध प्रावधान पनि दलित शब्दले पाएको संवैधानिक हैसियत हो ।

कुनै पनि वस्तु र विषयप्रतिको दृष्टिकोण अर्थात् दृष्टिबोध सौन्दर्य चेतना हो । सौन्दर्य चेतना भनेको सुन्दर हेराइ हो । विषय र मुद्दालाई बुझ्ने, परख गर्ने दृष्टिकोण सौन्दर्य चेतना हो । दलितको मुद्दा, विषय, समस्या, दुःख, पीडा र वेदनालाई हेर्ने, बुझ्ने, मूल्यांकन गर्ने, व्याख्या र विवेचना गर्ने शास्त्र सौन्दर्यशास्त्र हो ।

दलितनिर्मित देश

वेद पढे–सुने कानमा लाहा घोलेर हालिदिनू भन्ने असभ्यताबाट हुर्केबढेको समुदायलाई औपचारिक शिक्षाबाट वञ्चित गरिएका कारण उसको इतिहास लेखिएन होला । तलका उद्धरणबाट दलित समुदाय इतिहासको कति कठोर, क्रूर, अमानवीय अवस्था खपेर यहाँसम्म आइपुगेको हो भन्ने बुझिन्छ—

– शूद्रले वेद पढेको कसैले सुन्यो भने उसका कानमा पिँधेको सिसा र लाहा हाल्नुपर्छ, शूद्रले वेदमन्त्रको उच्चारण गर्‍यो भने उसको जिब्रो काट्नुपर्छ, शूद्रले वेदमन्त्र कण्ठ गर्‍यो भने उसको शरीरलाई टुक्रा पार्नुपर्छ । गौतम धर्मसूत्र, २।३।४

– शूद्रलाई धन एकत्र गर्ने सुविधा दिनु हुन्न, अन्यथा ब्राह्मणलाई दुःख हुनेछ । मनुस्मृति, १०।१२९

– ब्राह्मणले विश्वासपूर्वक आफ्नो शूद्र सेवकबाट धन लिन सक्छ, किनकि उसलाई श्रीसम्पत्ति राख्ने अधिकार छैन । मनुस्मृति, ८।४७

– शूद्रले ब्राह्मण, क्षत्रीय र वैश्यसँग अनुचित बोल्यो भने उसको जिब्रो काटिदिनुपर्छ, किनभने उसको उत्पत्ति निम्नबाट भएको हो । मनुस्मृति, ८।२७७

शिक्षामा पहुँच नभएका कारण सत्ता र शक्तिमा वर्चस्व भएन होला । नेपालका सैनिक र प्रहरी सेवामा पनि भर्ती हुने अवस्था थिएन । कतिपय ठाउँ र अवस्थामा दलितले बिहे गरेकी राम्री (परम्परागत सौन्दर्य चेतनाले सुन्दर भनिएकी) स्त्री पनि पहिले कथित ठूला जातलाई सुम्पेर मात्र आफ्नो बनाउनुपर्ने अत्यन्तै नीच प्रथासमेत थियो । दलितलाई आफ्नी स्त्री र सम्पत्तिमा समेत हक नहुने सामाजिक कानुन थियो । यस्तो अवस्थाबाट गुज्रेको दलित समुदायको लिखित इतिहास होस् कसरी ?

अनौपचारिक ज्ञान, सीप र प्रविधि अनि श्रमको विकास यो देशमा कसैले गरेको छ भने त्यो दलित समुदायले गरेको छ । दलित सीप नै सीपको धनी समुदाय हो । नेपाल आज जति बनेको छ, त्यसका मुख्य कालिगड दलित समुदायका व्यक्ति हुन् । नेपाल दलित समुदायको आँसु, रगत, पसिना, श्रम र साधनाले बनेको मुलुक हो । दलित त्यस्तो वर्ग र समूह हो जसको कुनै पुस्ताले आजपर्यन्त देशघात हुने काम गरेको छैन । सन्धि–सम्झौताजस्ता जति पनि देशघाती कामहरू भएका छन्, जलविद्युत् उत्पादनका नाममा खोलानाला बेचिएका छन्, ती सबै कामको नेतृत्व कथित उच्च जात र शासक वर्गबाट मात्र भएको हो । त्यसैले दलित देशनिर्माता मात्र हो, देशघाती होइन ।

आफू मरेर, निख्रिएर, सिद्धिएर, अपमानित भएर, हरपल प्रताडित भएर पनि देश निर्माणमा आफ्नो ज्ञान, सीप, कला, साधना र श्रम लगाउँदै आएको छ दलितले । दलितसँग प्रकृतिसँग पौंठेजोरी खेलेर, कथित ठूला जातको दलन पचाएर आर्जन गरेको प्रविधियुक्त सीप, कला र आविष्कार छ । त्यसैले दलित ज्ञान र इतिहासलाई शोधको महत्त्वपूर्ण विषयका रूपमा परिभाषित गरिनु सान्दर्भिक हुन्छ ।

दलित मुद्दा

दलित विषय केवल मानवताकेन्द्रित हो । दलित विषय मानवकेन्द्री विषय हो । मानवताको कुनै जात, पक्ष र विपक्ष हुँदैन । मानवताको पृष्ठपोषण गर्नु भनेको कसैको विरोध र कसैप्रति समर्थन होइन, मानवताको प्रवर्द्धन हो । मानवतावादभन्दा ठूलो धर्म, दर्शन, संस्कृति र समाजभन्दा अर्को कुनै सिद्धान्त छैन । त्यसैले दलितको विषयको केन्द्रमा मानवता रहन्छ । मानवता र मानव अधिकारको विषय, मानव मर्यादाको पहिलो सर्त नै युगसापेक्षतामा बुझिन्छ ।

कहालीलाग्दो वर्तमान

दलित मानव अधिकार–२०७९ का अनुसार, जातीय भेदभाव तथा छुवाछूत ऐन आएपछि जातकै कारण ७७ जनाले ज्यान गुमाएको देखिन्छ । दलित समुदायका मात्र ४८ जनको निर्मम हत्या भएको छ । २०७७ जेठ १० गते रुकुमको सोती बगरमा भएको ६ जनाको नरसंहार कुख्यात नै छ । अपमान, गालीगलौज, बेइज्जती र यातना, गाउँनिकाला, बहिष्करण बेहिसाब गरिएका छन् । दलितको सामाजिक, सांस्कृतिक र मानवाधिकार कहालीलाग्दो नै छ ।

दलितका लागि छुवाछूत र विभेद मूल समस्या हो । गरिबी छुवाछूतको परिणाम हो । तसर्थ छुवाछूत अन्त्यका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र मनोवैज्ञानिक उपचार पद्धतिसहित ‘पोजेटिभ डिस्क्रिमिनेसन’ का आधारमा समावेशी, समानुपातिक र अवसरको समुचित वितरणको विधिमा जोड दिनुपर्छ । कला, संस्कृति, सीप, प्रविधि, सम्पदा, अस्तित्व र पहिचान स्थापित गर्नेसम्बन्धी बहस, छलफल र विमर्श पर्याप्त चलाउनुपर्छ ।

दलित एजेन्डा र वैचारिकी

दलित एजेन्डासँग सहकार्यको वैचारिकी निर्माण हुन सक्छ । दलित–दलितबीचको विचारमा विगतमा एकता थिएन होला । होस् पनि कसरी ? दलित समुदायभित्र पनि ठूलो र सानो जात भनेर कित्ताकाट गरिदिएपछि एकता असम्भव भयो । ‘फुटाऊ र राज गर’ को नीतिले दलित समुदायलाई एक हुन दिएन । तर अब दलितमा आएको चेतना, दलितले देश–विदेशमा गएर प्राप्त गरेको ज्ञानले आफूविरुद्ध विगतदेखि नै भएको षड्यन्त्रबारे सचेत बनाएकाले मुक्ति र न्यायिक निरूपण खोज्न एकता अपरिहार्य छ । झन् गैरदलित र दलितबीच वैचारिक एकता अलि परको विषय हो । यसर्थ साझा एजेन्डा बनाएर लड्न र त्यसैलाई वैचारिक रूप दिन नसकिने भने होइन । प्रथमतः मुक्तियात्रा सुरु गर्नुअघि ‘मिनिमम कम प्रोग्राम’ मा दलित–दलितबीचको एकता अत्यावश्यक देखिन्छ । यहाँ अम्बेडकरको भनाइ स्मरणीय छ, ‘शिक्षित बन, संघर्ष गर र संगठित बन ।’ दलित समुदाय यी तीन ‘स’ को मर्मबाट विमुख बन्न मिल्दैन ।

उत्पीडनमा परेका जनजाति, महिला, उत्पीडित वर्ग, छाउ वा नछुने भएका कारण दमनमा परेका महिला, दहेजको भुंग्रोमा परेका मधेशी समुदाय आदि सबैको सामाजिक विकृति, विसंगति, अवैज्ञानिक विचार र सोचविरुद्ध एकता, हातेमालो र सहकार्य आफैंमा एउटा वैचारिक प्याकेज र एजेन्डा बन्न सक्छ, शक्ति बन्न सक्छ । दलितहरू जो जहाँ जुन पार्टी र विचारमा आबद्ध भए पनि दलित मुद्दामा आआफ्ना ठाउँबाट संघर्ष गर्ने र समर्थन गर्ने अवधारणा विकास गरेर अभ्यास गर्न सकिन्छ ।

अभियन्ता कमला भासिन प्रायः भन्ने गर्थिन्, ‘महिला मुक्तिको प्रक्रियामा पुरुषको साथ र सहयोग अपरिहार्य हुन्छ । नारीवादी हुनु भनेको पुरुषको विरोध गर्नु होइन, पुरुषलाई सक्नु होइन ।’ त्यसै गरी दलित समुदायको मुक्तिको यात्रामा न्यायप्रेमी गैरदलितको भूमिका र सहयोग अपरिहार्य हुन्छ । दलितले आफ्नो अधिकार र हकको कुरा गर्नु गैरदलितको अस्तित्व नष्ट गर्नु नभएर समता र स्वतन्त्रता अनि सहभागितामा आफ्नो पनि भूमिका खोज्नु हो ।

गैरदलित भूमिका

कतिपय गैरदलितलाई आफ्नो समुदायमार्फत भएको भेदभाव, जातीय छुवाछूतजस्तो असभ्य र अमानवीय कर्मको कलंक आफ्नो निधारमा बोकेर हिँड्नुपरेकामा ठूलो पश्चत्ताप र ग्लानिबोध छ, लज्जा र अपराधबोध छ । त्यसैले यहाँ दलित मुक्तिको प्रश्न मात्र छैन, गैरदलित र देश नै असभ्य, बर्बर, सामाजिक संरचनामुक्त बन्ने अभियानको मेलोमेसो पनि छ । जातीय छुवाछूत र भेदभाव राष्ट्रिय लज्जा र मानव अधिकार हननको अन्तर्राष्ट्रिय विषय हो । रूकुमको सोतीमा दलितसँगै मारिने दुई गैरदलित युवा र सो मुद्दा फैसला गर्ने न्यायाधीशदेखि आधा दर्जन गैरदलित अधिवक्तासम्मले पीडितका पक्षमा वकालत गरेर प्रस्तुत गरेको दृष्टान्तले पनि हाम्रो सामाजिक अवस्थितिमा दलित–गैरदलित सम्बन्ध र सद्भावको परिचय दिन्छ ।

दक्षिण अफ्रिकामा प्रयुक्त श्वेत–अश्वेत सन्दर्भ

दलित एक्लै मुक्तियात्रामा हुँदा गन्तव्य धेरै टाढा र कठिन बन्छ । ‘हीराले हीरा नै काट्छ’ सिद्धान्त अवलम्बन गर्न पनि दलितको मुक्ति र मर्यादाका पक्षमा गैरदलितलाई उपयोग गर्ने रणनीति प्रभावकारी हुन्छ । दक्षिण अफ्रिकामा अश्वेतहरूले श्वेतसँग लड्न र आफ्नो मुक्ति यात्रामा श्वेतहरूलाई स्वीकार गरेपछि संघर्ष सहज भएको दृष्टान्त भुल्नु हुँदैन । गैरदलितसँग सहकार्य र संघर्षको नीति अख्तियार गर्दा दलित मुक्ति सहज र शीघ्र सम्भव देखिन्छ ।

दलित मुक्तिका लागि गैरदलितको सक्रियता, सहयोग, समर्थन र सहभागिता समाज परिवर्तन, जातीय विभेद र छुवाछूत अन्त्यका लागि अपरिहार्य सर्त हो । ६० लाख दलितको विषयलाई गहन ढंगले नलिएको कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विषय अधुरो र अपुरो नै हुन्छ । सबैभन्दा ठूलो कुरा मानव अधिकार हननको विषय बन्छ, दलित समुदाय नसमेटिएको र नअटाएको विचार । दक्षिण अफ्रिकामा पनि श्वेतहरू सहयोगी बन्दैनन् र छैनन् भन्ने भाष्य कायम थियो तर समयक्रममा गोराहरूको सहयोग पनि रंगभेदविरुद्ध कामयाब बन्न सक्यो । त्यस्तै नेपालमा पनि गैरदलितको भूमिकामा सन्देह र विकर्षण प्रशस्तै देखिएका छन् । सन्देहसहित नै विश्वासमा लिएर दलित मुक्तिको प्रश्नमा गैरदलितको सान्दर्भिकता रहन सक्छ ।

दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध गोरालाई पनि सहभागी गराउने र सहयोगी बनाउने नीति लिएर चलाइएको ‘कल टु ह्वाइट’ अभियानकै फलस्वरूप रंगभेदविरोधी संघर्षमा डेनिस गोल्डबर्ग, जेरिम क्रोनिनर, रेमन्ड सट्नरलगायतका श्वेत व्यक्ति जेलमा परेका थिए । सन् १९५७ मा सुरु भएको राजद्रोह ट्रायलमा आरोपित १५६ जनामध्ये प्रमुख २३ कार्यकर्ता स्लोभो, रुथ फर्स्ट र हेलेन जोसेफ, येट्टा बेरेनबलाट, सोनिया बन्टिङ, डोरोथी शान्ले र ज्याक्लिन एरेस्टिन श्वेत अफ्रिकी थिए । यी उदाहरणबाट नेपालको दलित आन्दोलनले पनि सिक्न र गैरदलितहरूको साथ, सहयोग र सहभागितालाई मानवता स्थापनार्थ उपकरणका रूपमा प्रयोग गर्न सक्छ । नेतृत्व उत्पीडितले गर्नुपर्छ, तर साथ र हात सबैको लिनु मनासिब हुन्छ ।

‘दलित लाइभ्स म्याटर’

सन् २०२० मा जसरी जर्ज फ्लोयडको हत्यापछि अमेरिकाभर ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा गुन्जायमान भयो, त्यसरी नै नवराजहरूको मृत्युपछि ‘दलित लाइभ्स म्याटर’ जार्गनका रूपमा नेपालमा पनि प्रचलनमा आएको छ । यो भाष्यलाई अझ स्थापित गरी दलितविरुद्ध भएका हिंसा, अपराध र अमर्यादामा प्रतिरोधको वैचारिकी निर्माण गर्दै लैजादा एउटा बलियो मनोविज्ञान बन्न जान्छ ।

दलित वैचारिकी निर्माणमा दलितका अगुवाहरू भगत सर्वजित, आहुति, पदम सुन्दास, रूपलाल विश्वकर्माहरूको प्राज्ञिक योगदान छ भने केही गैरदलित प्राज्ञिकहरू सञ्जीव उप्रेती, रमेश भट्टराई, ताराकान्त पाण्डेय, निनु चापागाईं, तारालाल श्रेष्ठलगायत पनि दलित सौन्दर्य चिन्तनको विमर्शमा जुटेका देखिन्छन् ।

अब गर्ने के ?

संविधान कार्यान्वयन र समावेशी बनाउनु, जसको इतिहास हो उसैलाई लेख्न दिनुपर्छ भन्ने विषयको उठान गर्नु, छुवाछूतको पुस्तान्तरण र विश्वव्यापीकरण, डिजिटल डिस्क्रिमिनेसनबारे व्यापक विमर्श बनाउन सामाजिक अन्तरक्रिया गर्नु एउटा बाटो हो । परिवर्तनमा दलितको भूमिका र इतिहास उल्लेख गर्ने, निर्वाचन प्रणाली दलितमैत्री कसरी बनाउने भन्ने विषयमा शोध गर्ने र कार्यान्वयनमा जोड दिने संयन्त्रको विकास गर्न सरकार र पार्टीहरूलाई बाध्य पार्न जैविक बुद्धिजीवीहरूको भूमिका खोज्दै उनीहरूलाई जतिसक्दो गोलबद्ध गर्ने रणनीति आवश्यक हुन्छ ।

समानुपातिक समावेशी प्रतिनिधित्वका लागि कतिपय बाध्यकारी स्थिति बनाएर पार्टीहरूमा पदाधिकारी सुनिश्चित गर्ने व्यवस्थाका लागि सम्बन्धित दलितले सम्बन्धित पार्टीसँग लबिइङ गर्नुपर्छ । पार्टीहरूलाई अधिकतम दलितमैत्री बनाउन दबाब दिनुपर्छ । दलित समुदायको मूलप्रवाहीकरणका लागि जो जसले सघाउन सक्छ उसबाट यथेष्ट सहयोग लिन आनाकानी गर्नु हुँदैन ।

केही समय माथि उल्लिखित विषयमै दलित समस्या समाधानको सूत्र खोज्नुपर्छ । जति गर्दा पनि यहाँका शासक र वर्चस्वशाली वर्गको चेत नफिरे दलित समुदायको मुद्दा र विषय अन्तर्राष्ट्रियकरण गरी विश्वव्यापी मानव अधिकार घोषणापत्र–१९४८ को यो अभिन्न सवाललाई विश्व समुदायसम्म पुर्‍याएर मानव अधिकार रक्षाको पहल गर्न ढिलाइ गर्नु हुन्न ।

Source: ekantipur.com 

प्रतिक्रिया