सिमान्तकृत समुदाय

दलित बालबालिकाको शिक्षामा कमजोर पहुँच

जाजरकोटको भेरी नगरपालिका–१, रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत खिमराज परियारको पढाइप्रति खासै रुचि छैन। अन्य विद्यार्थीको तुलनामा उनको सिकाइ उपलब्धि कमजोर छ। आगामी चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिने एसईई परीक्षाको लागि अन्य विद्यार्थी अलि बढी नै मिहिनेत गर्दैछन्। उनी भने पढाइप्रति अझै एकाग्र हुन सकिरहेका छैनन्। ‘एसईई परीक्षा नजिक आउँदैछ, उनको पढाइमा भने अझै सुधार हुन सकेको छैन’, विद्यालयका शिक्षक रुद्रराज वली भन्छन्, ‘हामीले प्रयास गरे पनि घरायसीलगायत कारणले पढाइमा ध्यान नदिँदा समस्या भइरहेको छ।’