लुम्बिनी — रूपन्देहीको बुटवल–१७, मोतीपुरकी ३७ वर्षीया अञ्जु थारूको दैनिकी बिहान ४ नबज्दैबाट सुरु हुन्छ । साइकलमा पेडल मार्दै झन्डै ५० किलो भारीको तरकारी बोकेर हुस्सुको पर्दा पनि नखस्दै उनी स्थानीयको घरघर नपुग्ने हो भने उनको परिवारको गुजारा चल्दैन । पटपटी फुटेका पैताला । मुखबाट निस्किरहेको तातो बाफ अनि साग आयो, गोभी, मूला आयो... भन्दै कराइरहने अञ्जुलाई यही परिश्रमले दुई छोरा हुर्काउन र घरपरिवारको बेवास्ता गर्ने श्रीमान्लाई पाल्न पुगेको छ । तिलोत्तमा र बुटवलका कैयौं टोलका स्थानीयका निम्ति अञ्जुको आवाज यति परिचित भइसक्यो कि उनी बोलेको सुनेपछि मात्रै उनका पुराना ग्राहक घरको झ्यालबाट बाहिर चियाउँछन् अनि पैसा बोकेर तरकारी किन्न आइपुग्छन् । तरकारीको डोको रित्याएर अञ्जु घर पुग्दा उनका दुई छोरा स्कुल पुगिसकेका हुन्छन् । आठ वर्षीय जेठो छोराले नै खाना पकाइवरी आफू र भाइले खाएर स्कुलसम्म जाने सबै चाँजो मिलाउने अञ्जुले बताइन् । सकेसम्म सबै तरकारी बेचेर घर फर्किंदा कहिलेकाहीँ त मध्याह्न नै भइसक्छ । ‘बिहान निस्केपछि बाटामा केही खान्नँ,’ उनले भनिन्, ‘पैसा जोगाउनुपर्छ, घरै पुगेर भात खान्छु ।’