‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५, मे २५ देखि २७ मे सम्म क्यानडाको टोरन्टोमा आयोजना हुने भएको छ । ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५, सम्मेलन क्यानडामा दर्ता भएको गैर–सरकारी संस्था सहयात्रा–क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा गर्न लागिएको हो । उक्त सम्मेलनको मुख्य नारा “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” भन्ने रहेको छ ।
सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसालीले “विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेकाले यसको विश्वबाटै अन्त्य गर्ने मुल ध्येयका साथ सम्मेलन गर्न लागिएको बताउनुभयो । जातिभेद दक्षिण एसियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,” उहाँले भन्नुभयो, यो सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउने छ ।
उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकाय तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको बताउनुभयो ।
सम्मेलनले सरकारका निकाय, नीति निर्माता, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी, शैक्षिक अनुसन्धानकर्ता, अध्येता, विद्यार्थी, तथा अभियन्ताहरूलाई एउटै साझा मञ्चमा ल्याई जातीय विभेद तथा अन्य उत्पीडनकारी अभ्यासहरूको उन्मूलनमा जोड दिने छ । सम्मेलनमा न्याय र समानताका आधारमा सामूहिक प्रयास कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संवादहरु हुनेछन् ।
“अहिलेसम्म १५ जना प्रतिष्ठित विद्वान, प्राध्यापक तथा अनुसन्धानकर्ताहरू वक्ताका रूपमा सहभागी हुने निधो भइसकेको छ । सम्मेलन जातीय विभेदबारे आफ्ना अनुभव, विचार, तथा पहलहरू प्रस्तुत गर्ने साझा मञ्च हो ।
सम्मेलन आयोजक समितिका संयोजक सन्तोष विश्वकर्माले नेपालको जातीय विभेदविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय रुपमा ऐक्यबद्धता निर्माण गरी यसको अन्त्यका लागि पहल गर्न यो सम्मेलनको तयारी गरेको बताउनुभयो ।
टोरन्टो सम्मेलनमा जातीय विभेदको प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडीहरू, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा र तिनको कार्यान्वयन, विभेद अन्त्य गर्न गरिएका विश्वव्यापी प्रयास, ज्ञान हस्तान्तरण, दलितसम्बन्धी अनुसन्धान, जातीय विभेद अन्त्यका लागि सर्वोत्तम अभ्यास तथा समाधानका साथै संस्थागत विकास, भावी रणनीति, तथा समानता र सामाजिक न्याय प्रवद्र्धन गर्ने उपायहरूबारे पनि छलफल गरिने भएको छ ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानव अधिकार रक्षक, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार, पेशाकर्मी तथा सामाजिक अभियन्ता लगायत विश्वभरबाट करिब ३०० जना सहभागी रहने अपेक्षा गरिएको छ।
थप जानकारी तथा सम्मेलनमा सहभागी हुनका लागि सहयात्राको वेबसाइट https://www.sahayatraintl.com मा गएर दर्ता गर्न सकिने आयोजक संस्थाले जनाएको छ।
प्रतिक्रिया