‘रिल’मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन। यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजिना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन। तर, ‘रिल’मा देखे–सुनेको घटना वास्तविक (रियल)मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजिनाले कल्पनासमेत गरेकी थिइनन्। बुधबार उनकाे जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रजिना एक घन्टाका लागि मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री बनिन्। कहिल्यै मन्त्रालय नटेकेकी १८ वर्षीया युवती एकाएक मन्त्री बनेपछि एकछिन अकमकिइन्।