आश्विन ४, २०८० -राजेश विद्रोही समाजमा जातव्यवस्था सुरु भएयता दलित समुदायले कहिल्यै चैन पाएको छैन । परिवर्तनका हरेक आन्दोलनमा उनीहरू बलि चढ्छन् तर त्यसको प्रतिफल पाउन सकेका छैनन् । दलित समुदायप्रति अपहेलना, विभेद र वञ्चितीकरण आजसम्म पनि ज्युँका त्युँ छन् । शासकहरूले सीमान्तीकरण र वञ्चितीकरण अभ्यासको जरो समाजमा यसरी गाडेका छन् कि यसलाई उखेल्ने प्रयास सफल हुन सकिरहेको छैन । अझ नयाँ योजनाकारमा पनि विभेद अनेक रूपमा अभिव्यक्त भइरहँदा दलित समुदायप्रति राज्य उदार बन्न नसकेको आभास हुने गरेको छ । जातीय व्यवस्थाका कारण पछि परेका समुदायलाई आरक्षणको माध्यमबाट अघि ल्याउने प्रयास अहिलेको राज्यव्यवस्थाले गरे पनि यो प्रभावकारी बन्न सकिरहेको छैन । अझ आरक्षणको नाममा दलित समुदायलाई भकुन्डो बनाउने प्रवृत्तिले दलित मुक्ति, अधिकार र स्वतन्त्रतामा राज्यसमेत बैरी साबित भएको छ ।