दलित समुदायका विश्लेषक तथा लेखक इन्द्र टमटाले एउटा लेखमा नेपालको दलित आन्दोलन ट्रेड मिलमा दौडिएको दौड्यै छ भनेका छन् । हामीलाई थाहा भएकै हो ट्रेड मिलमा दौडिएर कहीं गन्तव्यमा पुगिंदैन । अहिले हाम्रो आन्दोलनको अवस्था पनि त्यस्तै छ, अर्थात् यो आन्दोलनमा अहिले न त कुनै विचार छ, न कुनै संगठन र नेतृत्व । तर चिन्ता गर्ने भने धेरै छन्, जसले ट्रेड मिलमा दौडिएर स्वस्थ भएको अनुभव त गर्छ तर त्यो एउटा व्यक्तिमा सीमित हुन्छ । समग्र समुदायलाई कुनै असर हुँदैन । अहिले ठूलो संख्यामा दलितहरू विभिन्न राजनैतिक संगठनमा विभिन्न रूपमा आबद्ध छन्, माओवादीका युवा दलित नेताले दाबी गरे अनुसार उसको ७ लाख संगठित सदस्यहरूमध्ये एक लाख दलित नै छन् । त्यस्तै एमाले, कांग्रेसमा पनि ठूलो संख्यामा दलितहरू आबद्ध छन् तर, उनीहरू कसैसँग पनि दलित मुक्तिको खाका त परको कुरा सपना समेत छैन ।