राजतन्त्रकालमा चुनाव : बहिष्कार र विद्रोह

राजतन्त्रकालमा चुनाव : बहिष्कार र विद्रोह

गणतन्त्र स्थापना अघिसम्मको चुनावी वातावरण पनि अहिले जस्तो भयरहित नरहेको बताउँछन् पाका राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता विनयध्वज चन्द । उनी २०४७ यता उम्मेदवार भएर चुनावको प्रत्यक्ष अनुभव गरेका नेतामध्ये एक हुन् । २०४७ र २०५६ सालमा बैतडीबाट निर्वाचित भएका चन्द २०५१ सालमा बर्दियाबाट र २०६४ को संविधानसभा चुनावमा बैतडीबाट पराजित भएका थिए ।

‘अहिले जस्तो सूचना र प्रविधिको विकास भइसकेको थिएन । तत्कालीन राज्यसत्ताले गरेका सबै चुनावमा आफ्ना विरोधीलाई रोक्न सक्रिय हुन्थे, मतदातालाई फकाउने र थर्काउने दुवै हुन्थ्यो’ हाल राजनीतिमा सक्रिय नरहेका चन्द थप्छन्, ‘हत्या-हिंसा के भयो भन्ने कुनै रेकर्ड नै रहँदैनथ्यो, भएको पनि आम नागरिकले थाहै पाउँदैनथे ।’

२०४६ सालको परिवर्तनपछि बहुदलीय व्यवस्थामा भएका सबै चुनावमा बहिष्कार र विद्रोह चलि नै रहृयो । २०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढालेर प्रजातन्त्र पुनर्बहाली गरे पनि राजतन्त्रलाई ढाल्न सकेन । राजा सबैभन्दा माथि हुने गरी बहुदलीय व्यवस्था अपनाएर २०४७ सालमा संविधान जारी भयो । त्यसअनुसार २९ वैशाख २०४८ मा आम निर्वाचन भयो । संविधानभन्दा माथि राजा रहने व्यवस्थाको विरोध गर्दै मोहनविक्रम सिंह लगायतले चुनाव बहिष्कार गरे ।

‘हामी संविधानसभाको चुनाव गर्नुपर्छ भन्नेमा थियौं तर, नहुने भएपछि बहिष्कार गर्‍यौं । केही ठाउँमा हामीले बक्सा

 

(मतपेटिका) फुटाएकै हो’ सिंहले अनलाइनखबरसँग भने । सुरुमा चुनाव हुन नदिन भूमिका खेलेको र चुनाव नै हुने भएपछि बहिष्कार गर्ने निर्णयमा पुगेको सिंह बताउँछन् ।

२०४८ सालमा चुनाव गराउने तत्कालीन प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ चुनाव हुनै हुन्न भन्ने राजनीतिक समूह भन्दा चुनाव गर्नुपर्छ, पुनर्बहाली भएको प्रजातन्त्रलाई संस्थागत गर्नुपर्छ भन्नेहरूको जमात बढी भएका कारण त्यो चुनाव शान्तिपूर्ण नै भएको बताउँछन् । उनी भन्छन्, ‘त्यसबेला केही समूह थिए जो चुनाव बिथोल्न लागे तर, उनीहरूको खासै प्रभाव रहेन ।’

२०५१ को मध्यावधि चुनाव, २०५४ को स्थानीय चुनाव, २०५६ को चुनाव पनि भय र त्रासका बीचमा भएका थिए । २०५१ को मध्यावधि चुनाव हुँदै गर्दा तत्कालीन माओवादी युद्धको तयारीमा थियो । २०५४ को चुनाव हुँदा मुलुकमा सशस्त्र युद्ध सुरु भएको दुई वर्ष भइसकेको थियो । २०५६ को चुनाव हुँदा तत्कालीन माओवादी ‘रणनीतिक रक्षा’ बाट ‘रणनीतिक सन्तुलन’ मा पुगिसकेको थियो ।

https://www.onlinekhabar.com/2022/05/1122842

प्रतिक्रिया