गरिबी र सीमान्तीकरणमाथि थप समस्या
बाजुरा जिल्लामा कुपोषणको अवस्था कस्तो छ भन्नेबारे भरपर्दो र अद्यावधिक तथ्यांकको अभाव छ । तर स्वास्थ्यकर्मीहरूले बाजुरामा डिसेम्बर २०२१ देखि यस वर्षको अप्रिलसम्म उपचारका क्रममा ८०० बालबालिका कुपोषित रहेको पाएका थिए । सो जिल्लाको स्वास्थ्य कार्यालयले पनि नेपालको राष्ट्रिय कुपोषण दरभन्दा बाजुरामा बढी रहेको बताएको छ (नेपालका ३६ प्रतिशत बालबालिका शारीरिकरुपमा पुड्का हुने गरेको पाइन्छ) ।” सन् २०१९ मा जिल्ला स्वास्थ्य कार्यालयले गरेको एक सर्वेक्षणअनुसार जिल्लाको स्वामीकार्तिक खपर गाउँपालिकामा सबैभन्दा बढी कुपोषित बालबालिका रहेका थिए । मुक्तिकोट गाउँ सोही पालिकामा पर्छ ।
निरन्तरको गरिबी, पूर्वाधारमा कम लगानी र जातमा आधारित विभेदका घटनाबाट याे क्षेत्र निकै प्रताडित छ । अहिले जलवायु परिवर्तनले निम्त्याएका समस्याले त्यसमाथि संकट थपेको छ किनभने खडेरी, बाढी र सुक्खा मौसमले निर्वाहमुखी कृषि व्यवसायलाई चौपट बनाएको छ ।
यस्ता समस्याको घानमा सबैभन्दा बढी महिला र बालबालिका नै पर्छन् । स्वामी कार्तिक खपर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले महिलाको उच्चप्रजनन दरका कारण संकट झन् गहिरिएको बताए । मुक्तिकोटका महिला औसतमा १० जनासम्म बच्चा जन्माउँछन् भने तीमध्ये औसतमा दुईदेखि तीन जनासम्म नवजात शिशुको मृत्यु हुन्छ ।
समग्र नेपालमा भने प्रजनन दर घटेको छ । सन् २००० मा ३.९५५ रहेको प्रजनन दर २०२० मा आइपुग्दा १.८४५ मा झरेको थियो । बाल मृत्युदर घटाउनमा जुन प्रगति भएको छ, त्यसको अनुभूति पनि पश्चिम नेपालले गर्न पाएको छैन (प्रतिवर्ष जन्मिने १ हजार जीवित शिशुमध्ये एक वर्षभित्रै मृत्यु हुने बालबालिकाको संख्याका आधारमा गरिने गणना) । शाहीले भनेजस्तै जन्मेका हरेक १० शिशुमध्ये दुई जना नवजात शिशुको मृत्यु हुनुको अर्थ २०० नवजात शिशुको मृत्यु० हुन्छ । सो दर राष्ट्रिय औसत २५ भन्दा आठ गुणाले बढी हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमाल भन्छन्, “जलवायु परिवर्तनका कारण सुदूरपश्चिम क्षेत्रका सीमान्तकृत समुदायमा कुपोषण बढी व्याप्त छ । हामी त्यस परिस्थितिबारे सचेत छौँ तर दुर्भाग्यको कुरा यसबारे कुनै अनुसन्धान भने गर्नसकेका छैनौँ ।”
सन् १९७५ देखि २०१० सम्मको अवधिमा विश्वव्यापी औसत तापक्रम वृद्धिको तुलनामा पश्चिमी नेपालमा भएको तापक्रम वृद्धि दोब्बर भएको भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । सन् १९८१ देखि २०१२ सम्म कर्णाली नदी क्षेत्रमा हुने औसत वर्षामा प्रतिवर्ष झण्डै ५ मिलिमिटरले घट्दै गएको थियो । सन् २०१६ मा चरम खडेरी समेत भोगेको यस क्षेत्र जलवायु विपद्का दृष्टिकोणबाट निकै जोखिमपूर्ण अवस्थामा छ भन्ने यी परिवर्तनले पनि देखाउँछन् ।
सन् २०२१ मा नेपाल सरकारले गरेको जोखिम तथा असुरक्षाको आकलनमा सबैभन्दा असुरक्षित जिल्लामध्ये बाजुरा दोस्रो थियो (सबैभन्दा असुरक्षित जिल्लामध्ये पहिलोमा हुम्ला थियो) । असुरक्षालाई “संवेदनशीलता वा कमजोरीका साथै परिवर्तनलाई सामना गर्ने वा अनुकूल बनाउने क्षमतामा अभावका रुपमा परिभाषित गरिएको थियो । जनसांख्यिक बनोट, अर्थसामाजिक, पर्यावरणीय, भौतिक र भौगर्भिक चरित्रजस्ता विभिन्न परिस्थिति र साधनस्रोत तथा पूर्वाधारको स्थितिका आधारमा पनि यो कुरा प्रभावित हुन्छ ।” सन् २०२१ को जिल्ला विपद् तयारी तथा प्रतिकार्य (डीडीपीआर) प्रतिवेदनले त्यस वर्ष बाजुरामा आठ महिना लामो खडेरी परेको र अनुमान नै गर्न नसकिने वर्षा हुने गरेको जनाएको छ ।
https://www.thethirdpole.net/ne/507/88903/
प्रतिक्रिया