नेपालकै गरिब क्षेत्रको खाद्य संकटलाई झन् गहिर्याउँदै छ जलवायु परिवर्तनले
खुशी विश्वकर्मा आफ्नी तीन–वर्षे छोरीलाई सुम्सुम्याइरहेकी छन् । बच्चीको अनुहारमा कुनै चमक छैन र तौल पनि कम छ । अरु बालबालिकाजस्तो खुशीकी छोरी राम्रोसँग बोल्न र शारीरिकरुपमा सक्रियताका साथ खेल्न सक्दिनन् । सुदूरपश्चिमी जिल्ला बाजुराको मुक्तिकोट गाउँकी खुशीले थर्ड पोलसँग मार्च महिनामा कुराकानी गर्ने क्रममा आफ्नी छोरी कुपोषित भएकोप्रति दुःखेसो पोखिन् ।
त्यसो त खुशीको आफ्नै अनुहारमा पनि कुनै चमक छैन । केही हप्ताअघि मात्र उनले आफ्नो सबैभन्दा सानो बच्चा गुमाएकी थिइन् । आठ महिने छोरा गुमाउनुपर्दाको पीडाबोध उनको अनुहारमा झल्किन्थ्यो । “भर्खर जन्मेको बच्चालाई पनि मैले राम्रोसँग दूध चुसाउन सकिन किनभने सुत्केरी हुँदा म आफैँले राम्रो खाना खान पाएकी थिइन,” उनले भनिन्, “बच्चा केही दिन बिरामी भएको थियो, अनि बितिहाल्यो । मैले १३ जना बच्चा जन्माएँ, तीमध्ये अहिले जम्मा आठ जना जीवित छन् ।” आफ्नो उमेर ठ्याक्कै कति वर्ष भयो भन्ने समेत थाहा नभएकी उनी ४० वर्ष हाराहारीकी देखिन्छन् ।
उनका श्रीमान् वर्षको सातदेखि १२ महिना श्रमिकको रुपमा काम गर्न भारत जान्छन् । दुई जनाको बिहे भइसकेका कारण अहिले खुशीले आफ्ना ६ जना बालबालिकाको हेरचाह गर्नुपर्छ । “श्रीमान् भारतबाट फर्किँदा १० देखि २० हजार ल्याउनुहुन्छ, त्यही पैसाले पूरै परिवारलाई एक वर्षका लागि खाना तथा कपडा किन्छौँ,” उनले सुनाइन् ।
झण्डै ४०० घरधूरी रहेको मुक्तिकोटको यस दलित बस्तीका सबैको यो साझा समस्या हो । थर्ड पोलको यस संवाददाता त्यहाँ पुग्दा सो बस्ती महिला र कुपोषित बालबालिकाले भरिभराउ देखिन्थ्यो किनभने पुरुषहरू भारतमा काम गर्न गएका थिए ।
https://www.thethirdpole.net/ne/507/88903/
प्रतिक्रिया