युरोपको सपना पछ्याउँदै साम्बा

युरोपको सपना पछ्याउँदै साम्बा

काठमाडौँ — पुरुष वा महिला । नेपाली राष्ट्रिय फुटबल टिमका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी हुन्, सावित्रा भण्डारी । ‘साम्बा’ नामले चर्चित उनले नौ वर्षयता ४४ गोल गरेकी छन् । यसका लागि ४५ खेल खेलेकी यिनै ‘गोल मेसिन’ युरोपेली लिग खेल्ने सपना पूरा गर्न मंगलबार इजरायल प्रस्थान गरेकी छन् ।

 

इजरायल भौगोलिक रूपमा पूर्वी एसियाली देश हो । तर, इजरायलको फुटबल संघ (आईएफए) ले युरोपियन फुटबल युनियन (यूईएफए) को सदस्यता लिएको छ । त्यसैले इजरायलको राष्ट्रिय टिम र त्यहाँका क्लबले यूईएफका प्रतियोगिता खेल्दै आएका छन् । शीर्ष श्रेणीको महिला लिग ‘लिगात नासिम’ को विजेताले पनि यूईएफए महिला च्याम्पियन्स लिग खेल्ने अवसर पाउने गरेको छ । यही लिगात नासिम क्लब हापोएल रानाना एएफसीमा सन् २०२३–२०२४ का लागि अनुबन्धित हुँदै इजरायलतर्फ उडेकी हुन् साम्बा ।

‘युरोपमा खेल्ने मेरो सपना हो, जसको नजिक पुगेकी छु, खुसी छु, उत्साहित छु,’ २७ वर्षीया स्ट्राइकर साम्बाले भनिन्, ‘यो अवसर एउटा चुनौतीका रूपमा आएको छ । यस्तो परिस्थितिमा म पहिलादेखिको सपना (युरोपमा खेल्ने) पूरा गर्न लागिपर्नेछु । आफूले सक्ने गरेर भोलिको पुस्ताका लागि बाटो खुलाउने छु । इजरायलमा म यसैमा केन्द्रित हुनेछु ।’ असोज ६ गतेदेखि चीनको हाङचोउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुन उतैबाट जाने उनले बताएकी छन् ।

नेपाल एपीएफ क्लबमा आबद्ध उनले इजरायली फुटबलमा गरेको अपेक्षाबारे भनिन्, ‘युरोपको मान्यता छ । पक्कै पनि खेल्ने शैली फरक होला । केही नयाँ कुरा सिक्ने आशा गरेकी छु । प्रतिस्पर्धा पनि उच्च किसिमको होला भन्ने अपेक्षा गरेकी छु ।’ रानाना सहरमा सन् १९३८ मा स्थापित हपोएल रानाना एएफसीले २०१६ देखि महिला टिम बनाएको थियो । हपोएल रानाना २०१६–२०१७ मा दोस्रो डिभिजन च्याम्पियन हुँदै शीर्ष श्रेणीमा उक्लिएको थियो । तर, शीर्ष लिग दुई सिजन खेलेपछि २०१९–२०२० मा आठ टिममध्ये अन्तिम स्थानमा रहँदै घटुवामा परेको थियो । हपोएल रानाना फेरि २०२२–२०२३ मा दोस्रो डिभिजन च्याम्पियन हुँदै लिगात नासिममा फर्किएको हो ।

 

लिगात नासिमको गत सिजन २०२२–२०२३ को प्रतिस्पर्धा नौ महिना चलेको थियो । ‘विकिन्ड लिग’ आधारमा पहिलो चरणमा सहभागी आठ क्लबले २१–२१ खेल खेलेका थिए । त्यसपछि शीर्ष चार टिमले उपाधिका लागि ‘च्याम्पियनसिप राउन्ड’ मा प्रतिस्पर्धा गरेका थिए भने पहिलो चरणका पुछारका चार क्लबले शीर्ष श्रेणीको हैसियत जोगाउनका लािग ‘रेलिगेसन राउन्ड’ मा खेलेका थिए । त्यसैले प्रत्येक क्लबले २७ खेल खेलेका थिए । लिगात नासिमको उपाधिमा ह्याट्रिक गरेको किरियात गातले यूईएफए महिला च्याम्पियन्स लिगको छनोट चरणमा प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया