दोलखा पहिरो अपडेट : दुई शव फेला, दुई जना अझै बेपत्ता

पहिरोमा दुई जनाको मृत्यु

केदार शिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–७ मा बिहीबार राति गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो । 

पहिरोमा पुरिएको अवस्थाबाट मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए । शुक्रबार दिउँ मार्वु टोपाटारकै १५ महिने नाबालक प्रिन्स थामीको शव फेला परेको थियो । टोपाटार पहिरोका गम्भीर घाइते भएका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गौरीशंकर–७ मार्बु टोपाटार पहिरोमा परी घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ ।

यस्तै पहिरोमा परी घाइते भएकी बुहारी सिता थामीको थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । पहिरोमा परी दुईजना अझै बेपत्ता छन् बेपत्ता हुनेमा सोही स्थानका ६० वर्षीय कृष्णमगर र ४९ वर्षीय हरिला श्रेष्ठ रहेका छन् । पहिरोमा बेपत्ता ३ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । पहिरोले गौरीशंकर–८ खारेको सल्लेमा ५ घर बगाएको छ । थप १५ घर विस्थापित बनेका छन् ।

पहिरोमा स्थानीयका ६२ वटा बाख्रा र एक भैंसी मरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए । 

source: ekantipur.com 

प्रतिक्रिया