बत्ती नहुँदा बेलुकी पढ्न नपाएको गुनासो
कालीकोट — सान्नीत्रिवेणी–६ पोरीवाडाका वसन्त सार्कीले वैशाख लागेयता बेलुकी पढ्न पाएका छैनन् । लोडसेडिङले गृहकार्य पूरा नगरेरै सबैजसो छात्रछात्रा विद्यालय जाने गरेका छन् । बडरुख आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने वसन्तको बेलुकी पढ्ने बानी पनि हटेको छ ।
‘बेलुका पढ्न नपाएको त दुई महिना भइसक्यो,’ उनले भने, ‘साँझमा बत्ती आउन छाडेको धेरै भयो । अँध्यारोमै रात बित्छ ।’ खाडाचक्र–३ ताडीका नवीन पाण्डेले दुई महिनादेखि बत्ती नहुँदा बेलुकी पढ्न नपाएको गुनासो गरे ।
दुई वर्षअघि सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्म पुर्याइएको राष्ट्रिय प्रसारण लाइन भरपर्दो नहुँदा यहाँका नागरिकले सास्ती खेप्दै आएका छन् । ‘बत्ती नियमित छैन,’ मान्मस्थित पाण्डे ग्रिल उद्योगका सञ्चालक नरेन्द्र पाण्डेले भने, ‘जेनेरेटरबाट काम गर्दा महँगो पर्न थाल्यो ।’ अरू व्यवसायी पनि बत्तीको अनियमितताले मर्का परेको गुनासो गर्छन् ।
बत्ती नियमित नहुनुले प्राधिकरण र सोलार कम्पनीबीच कमिसनको चलखेल हो कि भन्ने आशंका लाग्न थालेको नागरिक समाजका अगुवा दमनराज बमले बताए । ‘बत्ती नियमित नभएपछि सोलार खरिद गर्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘राष्ट्रिय लाइन जोडेर मात्र के गर्ने सधैं बत्ती गएको गयै हुन्छ ।’ उनले एक घण्टामा १५/२० पटक बत्ती जाने गरेको बताए ।
कालीकोटको खाडाचक्र, सान्नत्रिवेणी र रास्कोटका ९० प्रतिशत घरधुरीमा केन्द्रीय लाइन पुगेको छ । त्यस्तै नरहरिनाथ, शुभकालिका, तिलागुफा र पचालझरनाका केही वडामा विद्युत् लाइन विस्तारको काम भइरहेको छ । जसका लागि विद्युत् प्राधिकरणले यो वर्ष करिब १० करोड रुपैयाँ खर्च गरिरहेको छ । कालीकोट हुँदै जुम्लाको चन्दननाथ, तातोपानी र तिलालगायतका स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन पुर्याइएको छ ।
राष्ट्रिय प्रसारण लाइनको ३३ केभीको पावर नपुग्दा र सुर्खेतमा अत्यधिक गर्मी हुने भएकाले कालीकोट, जुम्ला र दैलेखको लाइन काट्नुपर्ने बाध्यता रहेको कालीकोटस्थित विद्युत् वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए । ‘कतै लाइन दिनुपर्छ, कतै पोल ढल्छन्,’ उनले भने, ‘कम क्षमताको ट्रान्समिटर हुँदा पावर पनि पुग्दैन ।’ उनका अनुसार पिकआवरमा कालीकोट र जुम्लातिर बत्तीको पावर पुग्दैन । उनले दैलेखको दुल्लुमा कन्ट्रोल हुने भएकाले आफूलाई पनि बत्ती आउने–जाने कतिखेर हुन्छ भन्ने थाहा नभएको बताए । जुम्लासम्म ११ केभी मात्र लाइन गएकाले पावरमा समस्या छ । राष्ट्रिय प्रसारणको लाइन पुर्याउन मुगुमा पनि टेन्डरको काम भएको विद्युत् कार्यालयले जनाएको छ ।
२०७२ सालको बाढीपहिरोले क्षति पुर्याएको सान्नीगाड साना जलविद्युत् आयोजनाको नहर नबन्दा कालीकोटका केही स्थानीय तहमा अझै पनि विद्युत् सेवा अवरुद्ध छ । ५ सय किलोवाट क्षमताको मुम्रास्थित सान्नीगाड साना जलविद्युत् केन्द्र मर्मतमा ०७२ यता झन्डै ३ करोड रुपैयाँ खर्च भए पनि भत्किएको नहर अझै सञ्चालनमा आउन नसकेको हो ।
२०५७ मा निर्माण सम्पन्न भएर सशस्त्र द्वन्द्वमा अवरुद्ध पारिएको मुम्रा पोतमारास्थित सान्नीगाड साना जलविद्युत् आयोजना शान्तिपछि ०६५ जेठमा सञ्चालनमा आएको हो । ०७० असार २ गते रातिको बाढीले विद्युत्को नहर भत्काएपछि पुनर्निर्माण हुन ३ वर्ष लागेको थियो । त्यसयता पनि बेला बेलामा अवरुद्ध हुने गरेको छ । यहाँको विद्युत् मुम्रा, मेहेलमुडी, रकु, स्युना, सिप्खाना, बदालकोटको रेंगिल, मान्म, ताडी, भर्ताको पोरिपाल्नीसम्म विस्तार गरिएको छ ।
विद्युत् गृहको नहर र मेसिनमा पनि पहिरोले क्षति पुर्याएको थियो । विद्युत्गृहभित्रको संरचना पूरा भए पनि नहरको काम अघि नबढ्दा काम अलपत्र रहेको कालीकोट विद्युत् वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए । काठमाडौंबाटै इन्जिनियरको टोली आएर नहरको लागत इस्टिमेट तयार गरेर गएकाले आगामी वर्षदेखि बजेट आएपछि काम हुने उनले बताए । ‘बजेट आए १/२ महिनामै काम सकिन्छ,’ उनले भने, ‘स्थानीय विद्युत् योजना बने लोडसेडिङ अन्त्य हुने देखिन्छ ।’
प्रतिक्रिया