कुपोषण निवारणका सारथि
सल्यानको बाग्चौर नगरपालिकाका नीरज केसी बालबालिकालाई कुपोषण हुनबाट बचाउने अभियानमा सक्रिय छन् । जिल्लाका विभिन्न पालिकामा कुपोषण नियन्त्रणसम्बन्धी सचेतना फैलाउँदै आएका उनले पोषणयुक्त पिठोसमेत उत्पादन गरेका छन् ।
सल्यान — बाग्चौर नगरपालिकाको ठिनबाङका नीरज केसी सानैदेखि पढाइमा अब्बल थिए । स्कुल पढ्दा कक्षामा सधैं प्रथम हुन्थे । पढाइमा राम्रो भएकाले भविष्यमा डाक्टर बन्ने चाहना थियो । २०४४ सालमा जन्मिएका उनले २०६० मा एसएलसी प्रथम श्रेणीमा पास गरे । बाबु धनीराम केसी स्वास्थ्यकर्मी थिए । बाबु र उनका केही शिक्षकले डाक्टर बन्नुपर्ने बताएपछि विज्ञान पढ्न काठमाडौं लागे ।
कक्षा १२ दोस्रो श्रेणीमा उत्तीर्ण भए । स्नातक भर्ना भएर पढ्न थालेकाले उनले एमबीबीएस प्रवेश परीक्षा दिन पाएनन् । जसका कारण डाक्टर बन्ने उनको सपनामा पूर्णविराम लाग्यो । स्नातक पढेसँगै विभिन्न संस्थामा जागिर सुरु गरेका उनले २०७२ मा त्रिविबाट जनस्वास्थ्य तथा समाजशास्त्रमा स्नातकोत्तर गरे । डाक्टर बन्ने सपना अधुरो भए पनि जनस्वास्थ्यमा स्नातकोत्तर गरेकाले समाजसेवामा जोडिने सोच बताए । फलस्वरूप कुपोषण निवारणका लागि क्रियाशील बने ।
गैरसरकारी संस्थाको जागिर छाडेर बालबालिकालाई कुपोषण हुनबाट बचाउने उनको अभियान जारी छ । हाल उनले जिल्लाका विभिन्न पालिकामा पुगेर कुपोषण नियन्त्रणसम्बन्धी सचेतना फैलाउँदै आएका छन् । त्यसका साथै, पालिकामा पोषण कार्यक्रम लागू गर्नमा पनि उनको भूमिका छ । नीरजले शुल्क नलिई पालिकाको पोषणसम्बन्धी नीति कार्यक्रम बनाउँदै आएका छन् । कुपोषित बालबालिकालाई निःशुल्क परामर्श दिने र उपचारमा सहयोगसमेत गर्दै आएका छन् उनले ।
त्यति मात्र नभई सरकारले विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी नभएको र पसलमा खाजाका रूपमा जंक फुड खान बाध्य भएका बालबालिकालाई पौष्टिक आहार खुवाउन उनी क्रियाशील छन् । पौष्टिक तत्त्वको अभावमा ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषण विकराल समस्या बनिरहेका बेला नीरजको योगदान उल्लेखनीय रहेको स्थानीय बताउँछन् । त्यसका लागि उनी आफैंले पोषणयुक्त पिठोसमेत उत्पादन गरेका छन् । उक्त पिठो पालिकासँग सहकार्य गरेर सहुलियत दरमा विद्यार्थी र सुत्केरी महिला र शिशुका लागि उपलब्ध गराउँदै आएका छन् ।
जिल्लामा कुपोषण निवारणका लागि स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र विभिन्न संघसंस्थाले कार्यक्रम
गर्दै आएका छन् । तर ती कार्यक्रम खासै प्रभावकारी भने देखिएका छैनन् । जसका कारण जिल्लामा कुपोषणको दर घट्न सकेको छैन । जिल्लामा अहिले पनि करिब ३० प्रतिशत बालबालिकामा कुपोषणको समस्या छ । पोषण कार्यक्रम खासै प्रभावकारी नभएका बेला पोषणविज्ञका रूपमा चिनिएका नीरज जिल्लामा कुपोषण निवारणका सारथि नै बनेका छन् ।
Reference:https://ekantipur.com/feature/2023/08/10/169163637426871308.html
प्रतिक्रिया