हामी बाँचिरहेको समाज आफैंमा ‘कन्फ्युज’ लाग्छ : प्रकाश सपुत

हामी बाँचिरहेको समाज आफैंमा ‘कन्फ्युज’ लाग्छ : प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुतले संगीत सिर्जनामार्फत आफूले समाजका घाउ निचोर्ने प्रयास गरेको बताएका छन् । हिमालय टिभीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा अन्तर्वार्ता दिंदै उनले आफ्ना कतिपय सिर्जनामा समाजमा यो चाहिं नभईदिए हुन्थ्यो भन्ने आग्रह हुने र कुनैमा समाज यस्तो छ भनेर देखाउने प्रयास गर्ने बताए ।

 

प्रकाशले नेपाली समाज आफैंमा ‘कन्फ्युज’ लाग्ने समेत उनको धारणा छ । ‘म त्यो समाजमा जन्में, जसले मलाई हार्दिकता पनि प्रकट दियो, दु:ख-सुखमा सहयोग पनि गर्‍यो । नुन, तेल, चामल पैंचो पनि दियो । मेरो बाबा विदेश जाँदा ऋण पनि हालिदियो । मर्दापर्दा साथ पनि दियो, हामी एउटै समाजको मान्छे है पनि भनेर ढाडस दिने प्रयास गर्‍यो,’ उनले भने, ‘तर त्यही बीचमा उसले मलाई अपमान पनि गर्‍यो, तिरस्कार पनि गर्‍यो । विभेद पनि गर्‍यो, उसले मलाई तँ हामीसमान होइनस् है भन्ने अनुभूति पनि दिलायो । त्यसकारण हाम्रो समाज नै एक खालको कन्फ्युज जस्तो देखिन्छ ।’

उनले आफू पनि त्यस्तै अस्पष्टतामा हुर्के-बढेको हुँदा आफ्ना गीत र सिर्जनामा पनि त्यस्तै प्रतिविम्बित भएको हुन सक्ने बताए । ‘म पनि त्यही कन्फ्युजनमा हुर्कें, द्वेधखालको मानसिकतामा म हुर्कें । समाजलाई राम्रो मानौं कि नमानौं कि भन्ने भइरह्यो । आफ्नो सम्झिऊँ कि नसम्झिऊँ भन्ने मानसिकतामै मेरो बाल्यकाल र युवाकालको सुरुवाती अवस्था बित्यो,’ प्रकाशले भने, ‘सिर्जनामार्फत अहिलेको परिवेशबाट मान्छेलाई बुझाउने प्रयत्न हो ।’

उनले ‘बोलमाया’ र ‘गलबन्दी’मा समाज सहयोगी छ है भनेर देखाएको र ‘दमाई महाराज’मा त्यही समाजले विभेद पनि गरेको छ भन्ने चित्रण गर्ने प्रयास गरेको बताए । उनले आफ्ना सिर्जनाको उद्देश्य नै आदर्श समाज निर्माणका लागि प्रेरित गर्नु रहेको उनको भनाइ छ ।

प्रकाशले कुनै पनि सिर्जनामाथि बहस र विमर्श हुन आवश्यक रहेको बताए । ‘लोकतान्त्रिक-गणतान्त्रिक व्यवस्थामा समाजका कुरा बोल्न पाउने, आलोचना र समीक्षा गर्ने पाउने, सबैको अस्तित्व स्वीकार्ने, सबैको विचार स्वीकार्ने होला नि ?’ उनले भने । प्रकाशले हरेक सिर्जनालाई विम्बात्मक ढंगले बुझिदिन पनि आग्रह गरे ।

reference:https://www.onlinekhabar.com/2023/08/1348762

प्रतिक्रिया