संसद् खुलाउने विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन

संसद् खुलाउने विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौँ — संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अडान छोडेको छैन ।

बैठकमा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल अर्को छानबिन समिति बनाउँदा हाल भइरहेको अनुसन्धान प्रभावित हुने भन्दै निश्चित समय नेपाल प्रहरीलाई नै अनुसन्धानका लागि दिन सकिने र त्यसपछि आवश्यक परे छानबिन समिति बनाउन सकिने बताएका छन् ।

बैठकमा संसद् खुलाउने विषयमा सबै दलका नेताहरू सकारात्मक भए पनि सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा छलफल सकारात्मक ढंगले अघि बढे पनि निष्कर्षमा नपुगेको बताए । ‘आजको छलफल सकारात्मक ढंगले अघि बढेको छ, सोमबार वा मंगलबार फेरि अर्को बैठक बस्ने र छलफल गर्ने भन्ने कुरा भयो,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् खुलाउने विषयलाई केन्द्रमा राखेर छलफल भएको बताए । ‘प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउनैपर्छ भन्ने अडान राखिरहेको छ । फेरि गृहमन्त्रीज्यूले भइरहेको अनुसन्धानलाई निश्चित समयसम्म पर्खिएर हेरौँ भन्नुभएको छ, उहाँले मागेको समय पनि अब धेरै छैन,’ नेता लामिछानेले भने, ‘आजै सहमति भएन । तर छलफल संसद् खुलाउने विषयमै केन्द्रीत छ ।’ उनले आफूहरूले जसरी पनि संसद् सुचारु रुपमा सञ्चालन हुनपर्छ भन्ने अडान राखेको बताए ।

Reference:  https://ekantipur.com/news

प्रतिक्रिया