कैलालीमा डल्फिन उफ्रिएको हेर्न पाइने

कैलालीमा डल्फिन उफ्रिएको हेर्न पाइने

६ भदौ, कैलाली । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर-७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् ।

नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । ‘नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ’, सुनारले भने, ‘डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो ।’

बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् ।

हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गाना बताउँछन् ।

Reference :  https://www.onlinekhabar.com

प्रतिक्रिया