आफ्नै लयमा शशांक कोइराला
६६ वर्षको उमेरमा हिंडिरहेका उनी अबको ५/७ वर्ष मात्र आफ्ना लागि रहेको मान्छन् । त्यसपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने सोचमा रहेका उनी १५औं महाधिवेशनबाट सभापति बनेर पार्टीको नेतृत्व गर्न चाहन्छन् ।
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन पूरापूर दुई वर्षभन्दा बढी बाँकी छ । पार्टी विधानले दिएको सुविधा उपयोग गरी सभापति शेरबहादुर देउवाले कार्यकाल लम्ब्याउन खोजे थप एक वर्षसम्म पर धकेलिन सक्छ ।
नेतृत्वका आकांक्षीहरूलाई भने महाधिवेशन लागिसकेको छ । अहिलेसम्म उपसभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र महामन्त्री गगन थापा सभापतिका सम्भावित उम्मेदवार हुन् । तर अरू पनि सम्भावित नाम कांग्रेसभित्र चर्चामा छ ।
नेतृत्वमा स्थापित गर्ने योजनाबद्ध प्रयास
कांग्रेसमा कृष्णप्रसाददेखि सुरु भएको कोइराला परिवारको राजनीतिलाई निरन्तरता दिन २०४६ पछि थुप्रै प्रयोग भए । चिकित्सा पेशामा रमाइरहेका डा. शशांकलाई पनि प्रयोगकै क्रममा गिरिजाप्रसाद कोइरालाले राजनीतिमा ल्याएका थिए ।
गिरिजाप्रसादले सुरुमा कोइराला परिवारको उत्तराधिकारीका रूपमा बीपीका जेठा छोरा प्रकाशलाई बढाउन खोजे, तर २०६१ को शाही कालमा तत्कालीन राजा ज्ञानेन्द्रको मन्त्री बन्न पुगेपछि उनी कोइराला परिवारको उत्तराधिकारी बन्ने अवस्था रहेन ।
लगत्तै, गिरिजाप्रसादले बीपीका कान्छा छोरा शशांकलाई कांग्रेसको सक्रिय राजनीतिमा ल्याए । २०६४ को संविधानसभा चुनावमा नवलपरासी–१ बाट चुनाव जितेका उनी २०६७ मा काठमाडौंमा भएको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य भए । फागुन २०७२ मा भएको १३औं महाधिवेशनबाट त महामन्त्री नै चुनिए ।
त्यही वेला शशांकलाई कोइराला परिवारबाट कांग्रेसको नेतृत्वमा स्थापित हुन बाटो खुलेको मानिएको थियो । किनकि कांग्रेसको एउटा जमात उनमा पिता बीपीको अनुहार देख्थे । मृदुभाषी उनी कुनै अनियमितता वा विवादमा मुछिएका थिएनन् ।
बिर्सनलायक कार्यकाल
कांग्रेसको महामन्त्रीका रूपमा कोइरालाको झण्डै ६ वर्ष लामो कार्यकाल भने बिर्सनलायक रह्यो । उनले न राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाउन सके, न पार्टी राजनीतिमा । सभापति शेरबहादुर देउवाले मनोनीत महामन्त्री पूर्णबहादुर खड्कालाई हातमा लिएर मनमौजी रूपमा पार्टी चलाए । निर्वाचित महामन्त्री कोइरालाले विधानले दिएको अधिकार अनुसार, भूमिका खोजेनन् ।
बरु २०७४ को आम चुनावपछि सभापति देउवाको बचाउमा उत्रिंदा आफ्नै समूहका नेताहरूको तारो बन्न पुगे । नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेको त्यो चुनावमा कांग्रेस (कुल १६५ सिट) प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएपछि संस्थापन इतरका नेताहरूले सभापति देउवाको राजीनामा मागे, विशेष महाधिवेशन गर्नुपर्ने तर्क गरे । तर महामन्त्री शशांकले ‘उहाँले टिकट मात्र वितरण गरेको हो’ भन्दै देउवाको बचाउ र प्रतिवाद गरे ।
शशांकलाई अहिले पनि लाग्छ, जे गरें ठिक गरें । किनकि महामन्त्रीले नै सभापतिको विरोध गरेको भए पार्टी दुर्घटनामा पर्न सक्थ्यो । तर आफ्नो भूमिकाले पार्टीको दुर्घटना बचाएको बताउने शशांकको आफ्नै राजनीति भने ‘दुर्घटना’मा प¥यो ।
१४औं महाधिवेशनमा संस्थापन इतर समूहका नेताहरूले बहालवाला महामन्त्री कोइरालालाई नेता स्वीकार गरेनन् । लामो समयदेखि गुट चलाएर आएका बहालवाला सभापति देउवालाई आफूले मात्र हराउन सक्ने उनको दाबी थियो । तर त्यसवेला सभापतिको आकांक्षी रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायत कोही पनि उनको दाबीमा सहमत देखिएनन् ।
Reference : https://www.onlinekhabar.com
प्रतिक्रिया