माओवादी अभियानमा श्रमदान, सरसफाइ र शहीद परिवारलाई सम्मान

माओवादी अभियानमा श्रमदान, सरसफाइ र शहीद परिवारलाई सम्मान

१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुले श्रमदान, शहीद परिवारलाई सम्मान र सार्वजनिक स्थल सरसफाइ गरेर विशेष रुपान्तरण अभियान सुरु गरेका छन् ।

 

शनिबार माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट उदघाटन गरेपछि देशैभर एकसाथ सुरु भएको ‘जनतासँग माओवादी : विषेश रुपान्तरण अभियान’तीन महिनासम्म चल्ने छ ।

पार्टीको केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म वडा तहसम्मै परिचालन हुने र झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ माओवादी केन्द्रले रुपान्तरण अभियान थालेको छ । यही योजना अनुसार माओवादी अध्यक्ष प्रचण्ड शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँका स्थानीयले नागढुंगा सुरुङमार्ग निर्माणको क्रममा भोग्नुपरेका समस्याबारे जानकारी गराएपछि प्रधानमन्त्री प्रचण्डले कार्यक्रमस्थलबाटै आयोजना प्रमुखलाई फोन गरेर एक हप्ताभित्र समस्या समाधान सम्बन्धी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए ।

 

अभियानको उदघाटनको दिन मकवानपुर, काभ्रे लगायतका विभिन्न जिल्लाहरुमा श्रमदान, शहीद परिवारलाई सम्मान र विकास निर्माणका काममा माओवादी नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।

माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उदघाटन गर्ने क्रममा बागमती गाउँपालिका वडा नम्बर ७ कमिटीले चौरा आधारभूत विद्यालयका लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गरेको छ । साथै तीर्थकुमारी श्रेष्ठको खेतमा धान पनि गोडेको पार्टीका मकवानपुर संयोजक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसका साथै अन्य वडामा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उनले बताए ।

 

यसैगरी बागमती गाउँपालिका वडा नम्बर ६ मा जनहित आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरू, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, स्कुलका प्रधानाध्यापक, वर्तमान व्यवस्थापन समितिका अध्यक्ष, स्नातकोत्तरसम्म अध्ययन गरेका त्यही स्कुलका पूर्व विद्यार्थीहरू, पूर्वशिक्षिका, शिक्षक र खेलकुदमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई पनि सम्मान गरेर अभियान सुरु गरिएको केन्द्रीय सदस्य विष्णु सापकोटा (जुगल)ले जानकारी दिए ।

Reference :  https://www.onlinekhabar.com

प्रतिक्रिया