‘नेपाली फिल्मलाई विश्व मञ्चमा लैजान संस्कृतिका कथा भन्न ढिलाइ गर्नुहुँदैन’
१९ भदौ, काठमाडौं । आमा झरना थापा र छोरी सुहाना दुई पुस्ता मात्र होइन, दुई अलग समयलाई प्रतिनिधित्व गर्ने नाम पनि हुन् । न्युयोर्कको कोलम्बिया युनिभर्सिटीमा पढिरहेकी सुहाना नयाँ पुस्तासँग फिल्मलाई जोड्नुपर्छ भन्ने सोच राख्छिन् । झरनासँग दशकौं लामो फिल्मको अनुभव छ ।
मंगलबार यी दुई जनासँग आगामी फिल्म ‘एक भगवत् गीता’को सन्दर्भमा कुराकानी गर्दा साझा चासो भेटियो । उनीहरुको समान निष्कर्ष थियो– नेपाली फिल्मलाई विश्व मञ्चमा लैजाने हो भने हाम्रै संस्कृति र समाजको कथा भन्न ढिलाइ गर्न हुँदैन ।
यो तत्वबोध झरनालाई लगातार तीन हिट फिल्म दिएपछि प्राप्त भयो । ‘अनुभवले जीवनलाई चलाउँदै लैजान्छ । हामीले हाम्रै संस्कृतिभित्र रहेर फिल्म बनाउनुपर्छ । मैले फिल्म खेल्दा हिन्दी फिल्मबाट प्रभावित हुन्थ्यौं । ए मेरो हजुरको समयमा पनि हामीले त्यसरी नै काम गरेका थियौं । अब चाहिं सजग हुनुपर्छ र हामीभित्रै खोज्नुपर्छ है भन्ने लाग्यो । गर्छु पनि,’ झरनाले आगामी समयको बारेमा कुरा गरिन् ।
छोरी तथा अभिनेत्री सुहानाले नेपालको अर्को समाज बुझ्ने मौका पाइन् । ‘एक भगवत् गीता’ फिल्मका लागि उनी जनकपुरमा महिनौं बसिन् र मैथिली सिकिन् ।
‘जनकपुरमा मैथिली भाषा रहेछ । मैले कहिल्यै पनि सुनेको थिइनँ । स्कुलमा पढ्दा हाम्रो प्राथमिकता नेपाली र अंग्रेजी भाषा मात्र हुने गर्छ । मैथिली भाषा सिक्दा मलाई महसुस भयो कि हाम्रो भाषा र संस्कृतिबारे सिक्न जरुरी देखें । मलाई अहिले सिकाइदिएको भए, जनकपुरबारे धेरै थाहा हुन्थ्यो,’ उनको अनुभव छ ।
भनिन र लेखिन बाँकी नेपाली संस्कृतिमाथि फिल्म बनाउँदा यसले काम गर्ने उनको ठम्याइ छ । ‘अहिले बजार अस्थिरजस्तो लाग्छ । छिनमै चेन्ज हुने ट्रेन्ड छ । फास्ट पेस सोसाइटी भइसक्यो । पहिलादेखि नै केही कुरा स्थायी त थिएन तर एक्सपेरिमेन्ट केही दिनको छ । हामीसँग धेरै संस्कृति छ । त्यही कल्चरलाई समेटेर फिल्म बनाउँदा हाम्रो पहिचान बन्छ,’ सुहाना भन्छिन् ।
उनले प्रदर्शनको तयारीमा रहेको हलिउडको हरर फिल्म ‘नन् २’ को उदाहरण दिइन् । ‘भूतको फिल्म हेर्न जाँदा हामीले क्रिस्चियानिटी थाहा पाउँछौं । मनोरञ्जनमार्फत हामीले उनीहरुको धेरै कुरा सिकिराख्या हुन्छौं । हामीले हाम्रो कल्चरलाई समेटेर विश्वभर प्रस्तुत गर्नुपर्छ,’ उनी भन्छन् ।
रोमान्सबाट समाजतर्फको यात्रामा
झरना निर्देशित ‘ए मेरो हजुर’का तीन अघिल्ला श्रृंखला बक्स अफिसमा हिट रहे । रोमान्टिक र लार्जन द्यान लाइफ फिल्मबाट झरना एकाएक गम्भीर सामाजिक फिल्मतिर मोडिइन् । निर्देशकभित्र आएको मोड पनि हुन सक्छ, यो जुन झरनामा स्पष्ट देखिन्छ ।
यसबारे उनको आफ्नै व्याख्या छ, ‘निर्देशकको रुपमा तीन लभस्टोरी फिल्म बनाएपछि मलाई लाग्यो, नयाँ चीज दिनुपर्छ । अब समाजमा घटेको घटनालाई अघि बढाउनुपर्छ । जसको माध्यमबाट सन्देश दिन उचित लाग्यो । पैसा मात्र कमाउने भन्दा पनि सामाजिक घटनालाई उठाउन जरुरी देखें ।’
Reference : https://www.onlinekhabar.com
प्रतिक्रिया