बद्री-पहाडी-समाजसेवा-पुरस्कार-
काठमाडौँ — प्रत्येक वर्ष प्रदान गरिने १ लाख १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सुपरिचित परियारलाई प्रदान गर्ने निर्णय फागुन ३० मा सम्पन्न शान्ति समाजको पुरस्कार छनोट समितिले गरेको हो ।
मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान गरेबापत अधिकारकर्मी विष्णुमाया परियारलाई वर्ष २०८० को 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले निर्णय गरेको छ । समाजका तर्फबाट रामकृष्ण बरालले बिहीबार विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिइएको हो ।
साढे दुई दशकभन्दा बढी अधिकारको आन्दोलनमा योगदानका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्मानित सामाजिक न्यायका लागि क्रियाशील अभियन्ता परियारले विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा अतिथि वक्ताका रुपमा मन्तव्य व्यक्त गर्दै आएको मानव अधिकार तथा शान्ति समाजद्वारा विज्ञप्तिमा उल्लेख छ ।
सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्मिएकी परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ । यसैगरी उनको जीवन संघर्षको गाथा विश्व चर्चित एक प्रकाशनगृहद्वारा प्रकाशित पुस्तकमा समेत समावेश छ । उनले अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । पाइन म्यानर कलेजले परियारलाई सन् २०१३ मा मानार्थ डि.लिट (डक्टर अफ लेटरस्) ले सम्मान गरेको थियो । हाल अमेरिकामा रहेकी परियारका दुई वटा कृति प्रकाशित छन् ।
प्रतिक्रिया