असोज २२ गते, काठमाडौँ ।
नेपालका इतिहास एवं धर्मसंस्कृतिका विद्धान हरिप्रसाद सोडारीले ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिरमा सर्मण सार्वजनिक गरिएको हो ।
शोधकर्ता सोडारीको यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन भईसकेको छ । एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गर्नुभएका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिनुभएको छ ।
झण्डै १३ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको लेखक सोडारीले जानकारी दिनुभयो । वेदका अध्येता गुरु डा स्वामी प्रपन्नाचार्यको आशीर्वचन राखी नेपालको माटोदेखि मठमन्दिर, शिवालय, देवस्थल, तीर्थस्थलको महिमालाई मुख्य विषयवस्तु बनाइएको उहाँले जानकारी दिनुभयो ।
तीन सय ५६ पृष्ठको यस कृतिमा ऋषिमुनि, साधक, साधनाको गरिमालाई वैज्ञानिक दृष्टिले हेर्ने चिन्तनका बारेमा उल्लेख गरिएको छ । अन्तिम खण्डमा पुस्तकमा वर्णित तथ्यलाई पुष्टि गर्ने ३५ वटा चित्र समावेश गरिएका छन् ।
प्रतिक्रिया