बसन्तपुरको दशैंघरमा फूलपाती भित्र्याइयो, टुँडिखेलमा बढाइँ (तस्वीरहरू)

२४ असोज, काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजा सहित भित्र्याइएको हो ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याउने चलन छ ।

सो अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको छ ।

फूलपातीको डोली सहित नेपाली सेनाको टोलीले मंगल धुन पनि बजाएको थियो ।

बडा दशैंको सातौं दिन घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने त्यसैलाई फूलपाती भनिन्छ ।

फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने चलन छ ।

तस्वीर : रत्न श्रेष्ठ / रासस

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत सहभागी थिए ।

हेर्नुहोस् तस्वीरहरू : 

तस्वीर : रत्न श्रेष्ठ / रासस
तस्वीर : रत्न श्रेष्ठ / रासस

             source: onlinekhabar.com 

प्रतिक्रिया