छठ : आज साँझ अस्ताउँदो सूर्यको पूजा गरिँदै, भोलि उदाउँदो सूर्यलाई अर्घ दिने

२२ कात्तिक, काठमाडौं । आज छठ पर्व सूर्यको पूजा आजा ब्रत उपासना गर्ने दिन । खोला, नदि, ताल तलाउ पोखरी किनारमा सुर्यलाई पूजा गर्दै व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधनाका साथ अर्घ दिने प्रचलन छ । 
आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिने छ । 
छठको पर्वको दिन आज देशभर सरकारले सार्वजनिक बिदा दिएको छ । 

काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध गरी छठघाट निर्माणको व्यवस्था गरिएको छ । 

जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा भएका छन् । 
तराई क्षेत्रमा मनाइने विशेष छठ पर्व पछिल्लो समय राजधानीसँगै हिमाली तथा पहाडी भेगमा समेत पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ  बनाई छठ पर्व मनाईन थालिइको छ । यसले सामाजिक सद्भाव र एकता संगै आस्थालाई मजबुद बनाउने जनविश्वास बढेको छ ।
छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिनु भएको छ ।

तराईमा दिपावली नसकिदै पोखरी, ताल तलैया, खोला र नदी सागरहरु चिटिक्क र झिलमिल पार्ने गरिन्छ । 

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । मंगलबारदेखि नै छठपर्वको अनुष्ठान सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन हुनेछ । जनकपुरको गंगा सागर पोखरीमा ठूलो संख्यामा भक्तजनहरुले छठ मनाउने गर्छन् । 
जनकपुरको दुई दर्जनभन्दा बढी पोखरीमा छठ पर्वका वेला सिघारीएका छन्  । ‘छठ पर्व मनाउनेसँग नै चन्दा लिएर घाटलाई व्यवस्थित बनाउने गरिन्छ 
छठ अन्य चाडपर्वभन्दा फरक छ । पानी, पोखरी, सरोवर, नदीसँग जोडिएको पर्वको रुपमा लिईन्छ । त्यसैले जलाशय क्षेत्रलाई सज्जाउने र पर्यावरणसंग पनि जोडिएकाले छठ पर्व व्यापक मानिएको हो । 

श्रद्धा, भक्ति र नियम–निष्ठापूर्वक मनाइने छठ मिथिलाञ्चलको पुरानो पर्व हो । तराई–मधेशमा मात्र सीमित छठ पर्व विस्तारै देशभरि मनाउन थालिएको छ । 

पुत्र, पति र परिवारको कल्याण तथा पृथ्वीमा पर्याप्त प्रकाश छरेको भन्दै सूर्यलाई धन्यवाद दिनु छठ पर्वको महत्व हो । कात्तिक शुक्ल षष्ठी र चैती गरी छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको मान्यता छ ।

प्रतिक्रिया