दलित समुदायबाट विद्यावारिधि गर्नेहरु सम्मानित

काठमाडौं– समता फाउण्डेसनले दलित समुदायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । एक कार्यक्रमको ओाजना गरी पीएचडी गर्ने ३० जना दलित व्यत्तिहरुलाई समता फाउण्डेसनले सम्मान गरेको हो । 

सम्मानित हुनेहरुमा डा मदनप्रसाद परियार, डा चेतबहादुर परियार, डा द्रोण रसाइली, डा विष्णु परियार, डा पूर्णबहादुर नेपाली, डा इन्दिरा सुन्दास, डा मानबहादुर विक, डा रविना जी रसाइली, डा विष्णुमाया परियार, डा गङ्गाराम विश्वकर्मा, डा श्याम परियार, डा यामबहादुर किसान, डा आइत विश्वकर्मा, डा अमित परियार, डा बुद्धि नेपाली, डा रमेश सुनाम, डा मित्र परियार, डा निर्मलकुमार विश्वकर्मा र डा शेखर परियार हुनुहुन्छ । 

यसैगरी डा कृपाराम विश्वकर्मा, डा मोम विश्वकर्मा, डा रमेश परियार, डा दिनेश हरिजन, डा रत्नबहादुर वाग्चन, डा श्यालाल मगराती, डा अमरबहादुर विक, डा नन्दलाल दर्नाल, डा यामबहादुर विक र डा पूर्णबहादुर विश्वकर्मा पनि हुनुहुन्छ ।

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेशनका अध्यक्ष डा मदनप्रसाद र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । 
सो अवसरमा वरिष्ठ अधिवक्ता नारायण नेपाललाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री विकले संविधानमा उल्लेखित दलित अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबैले आफ्नो क्षेत्रबाट आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले राज्यबाट नै सम्मानित गरिनु पर्ने व्यक्तित्वलाई समता फाउण्डेशनको माध्यमबाट त्यस्ता विज्ञलाई आफुले सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

राज्यमन्त्री विकले विज्ञ व्यक्तित्वको सम्मानले आफुलाई पनि विद्यावारिधि गर्न हौसला मिलेकोले त्यसको तयारीमा जुट्ने धारणा राख्नुभयो । उहाँले दलित समुदायको हक अधिकार र उत्थानको लागि लड्न सक्ने शक्ति अहिलेका विज्ञ व्यक्तिहरुको प्रमुख हातमा रहने बताउनु भयो । विकले आफु दलित समुदायको प्रतिनिधित्व गर्दै वन तथा वातावरण राज्यमन्त्री भएकाले दलितका हकअधिकारका लागि आफुले सक्दो पहल गर्ने र आफुलाई सुझाव दिन पनि आग्रह गर्नुभयो । उहाँले दलित समुदायको हकअधिकारका लागि लड्न विभिन्न संघसंस्था रहेपनि समता फाउण्डेशनले गरेको योगदानलाई कसैले भुल्न नहुने बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य जीवन परियारले देशैभरबाट दलित समुदायका तीस जना व्यक्तिले विद्यावारिधि अर्थात डा. हुनु भनेको भावी सन्ततीको लागि प्रेरणाको स्रोत हो भन्नुभयो । उहाँले देशमा लाखौं दलित भएपनि ३० जनाले मात्र विद्यावारिधि प्राप्त गर्नुभनेको अझै दलित समुदायका व्यक्तिहरु शिक्षाको पहुँचबाट वञ्चितीकरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानको धारा ४० मा दलितको हक अधिकारको विषय भएको र त्यही धारा अन्तरगत शिक्षा पनि रहेकोमा अझै कानून बनाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले दलितले शिक्षाको हक अधिकारको लागि अब १ पालिकाबाट १ जनालाई पीएचडीको छात्रबृद्धि उपलब्ध हुनुपर्ने भन्दै आन्दोलन गर्नुपर्ने बताउनु भयो । 
समता फाउण्डेशनका अध्यक्ष डा. मदन परियारले २०६५ सालमा स्थापना भएको फाउण्डेशन मुनाफा वितरण नगर्ने र दलित तथा बहिष्कृत समुदायको हक अधिकार सुनिश्चितताको लागि अध्ययन अनुसन्धान तथा प्रकाशन, तालिम तथा सम्मेलनमार्फत नीतिगत पैरवी गर्दै आएको बताउनु भयो । फाउण्डेशनका अध्यक्ष मदनपरियारले यस सम्मान कार्यक्रमले आगामी दिनमा दलित समुदायका थप नयाँ पुस्ताले विद्यावारिधि उपाधि हासिल गर्ने अपेक्षा गर्नुभयो । उहाँले कुनै बेला दलित समुदायका व्यक्ति विद्यालय जान समेत तत्कालिन सरकारको हुकुम चाहिने अवस्थाबाट आएका दलितहरु अहिले विभिन्न विषयमा विद्यावारिधि प्राप्त गरेर देशको उच्च ओहोदामा पुग्न धेरै संघर्ष गर्नुपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा दलित मानव अधिकार पुस्तक २०८० नामक पुस्तक विमोचन गरिएको थियो । साथै जलवायु परिवर्तनले दलित समुदायको सामाजिक आर्थिक अवस्थामा पारेको असरको बारेमा पनि छलफल भएको थियो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, संस्थापक अध्यक्ष पदम सुनदास, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल दलित संघ, जातीय मुक्ति मोर्चा, समाजवादी मुक्ति मोर्चालगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया