३ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जात व्यवस्था समाज विकास र प्रगतिको तगाँरो भएको उल्लेख गर्नुभएको छ ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री शर्मा ओलीले जातपात समाजबाटै मिल्काउनुपर्ने बताउनुभएको हो ।
‘जातीयता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताउदै उहाँले समाजको ऐंजेरुको काँडाको रुपमा रहेको यो जातव्यवस्थालाई फेदैमा लुछेर फालिदिनुपर्छ,’ भन्नुभयो ।
‘सबैभन्दा पहिला मानिस हौँ’ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउँदै उहाँले मानिस सबै बराबर भएको ठहर गर्नुभयो ।
जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत व्यवस्था ल्याइएको बताउनुभयो ।
‘यो एउटा समाजलाई व्यवस्थित गर्ने ठिक तरिका छान्न नसक्दा गलत व्यवस्थाको विकास भएको हो, यो बिरुवालाई हुर्काउनुपर्ने बेलामा पलाएको ऐंजेरु हो, जस्तै हो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया