सिमान्तकृत समुदाय

पाल्हीनन्दनका भूमिहीन दलितको सडकमै बास

१९ जेठ, पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुकुम्वासी आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् । भूमिहीन दलितलाई कानुनबमोजिम सरकारले एक पटक जमिन उपलब्ध गराउने संविधानमा व्यवस्था रहेपनि गाउँपालिका र आयोगले यहाँका भूमिहीन दलिललाई आवासका लागि जग्गा उपलब्ध नगराउँदा सडकमा फुसको छाप्रो बनाएर बासिरहेको पाल्हीनन्दन‐४ का रामु चमारले बताए । आयोग र गाउँपालिकामा आवासका लागि पटकपटक फाराम भरेपनि जमिन नपाएको स्थानीय सुकदेव चमारले बताए । उनका अनुसार पुस्तौँदेखि सडकमा छाप्रो बनाएर बस्दै आएकामा गत वर्ष सडक स्तरोन्नति गर्दा घर भत्काइएको हो । आवासका लागि जमिन उपलब्ध गराइदिन पालिका, वडा कार्यालय र आयोगसँग आग्रह गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।